लहानमा सोधिँदै एउटै प्रश्न “आज बिहान कहाँ गएर आयो ?’’

  वास खबर समाचारदाता  237 पटक हेरिएको


सिरहा : अबको केही दिनमा तपाईँ लहानमा पुग्नु भयो भने टेम्पोको पछाडि पट्टि देख्नुहुनेछ ‘तुं आई बिहान कत गेलरही ?’ सहरका भित्ताहरूमा पनि त्यही प्रश्न टाँसिएको हुनेछ, सामाजिक सञ्जालहरुमा यही सन्देश छाउनेछ र रेडियो ट्युन गर्दा पनि त्यही कुरा गुञ्जिनेछ, ‘तुं आई बिहान कत गेलरही ?’ अर्थात “आज बिहान कहाँ गएर आयो ?’’

यो कुनै सामान्य सोधपुछ नभई लहान नगरपालिकामा जारी ‘घरघरको शान, स्वच्छता अभियान’ लाई उत्कर्षमा पुर्‍याउन तयार पारिएको एउटा मनोवैज्ञानिक ‘अस्त्र’ हो। खुल्ला ठाउँमा शौच गर्ने बानी भएकाहरूलाई आफ्नै अन्तर्मनले सोधोस् र आत्मबोध गराओस् भन्ने उद्देश्यले यो ’नोकिङ’ (ढक्ढक्याउने) अभियान सुरु गर्न लागिएको भिजन 360 का सिईओ विवेक सिंह ठकुरीले बताउनुभयो।

यो प्रश्नले मानिसहरुमा कौतुहलता उत्पन्न गराउने र यो मेरै लागि भनिएको हो भन्ने आत्मबोध गराउनेछ । बिहानै लोटा बोकेर खेतबारी वा खुला ठाउँतिर शौच गर्न जानेहरुका लागि यो प्रश्नले एक पटक सोच्न बाध्य बनाउनेछ । जब टेम्पोमा वा घरको भित्तामा देखिनेछ ‘तुं आई बिहान कत गेलरही ?’ तब बिहान खुला ठाउँमा दिसा गर्ने मान्छेले एक पलका लागि भए पनि सोच्न बाध्य हुनेछ “हो त है, आज पनि म खुल्ला ठाउँमै दिसा गरेर आएँ, के यो मेरो इज्जत र स्वास्थ्यका लागि सही हो?

यो अभियानको मुख्य लक्ष्य नै मानिसहरूलाई ‘नोकिङ’ गर्नु अर्थात् उनीहरूको चेतनाको ढोका ढक्ढक्याउनु रहेको भिजन 360 का सिईओ ठकुरीले बताउनुभयो। समाजमा खुला दिसालाई सामान्य मान्ने सोच माथि यो प्रश्नले कडा प्रहार गर्ने विश्वास गरिएको छ।

क्रियाकलाप यत्तिमै मात्र सीमित रहने छैन । शौचालय निर्माणको आवश्यकता महसुस गराएपछि जब शौचालय निर्माण हुना थाल्छन्, त्यसपछि लेखिनेछ ‘शौचालय हमसबहक सान यैछ’ अर्थात शौचालय हामी सबैको सान हो।

दोस्रो चरणमा शौचालय हाम्रो सान हो भन्ने गर्वको महसुस गराएपछि अन्त्यमा भित्तेलेखन पनि फेरिनेछ र लेखिनेछ ‘इजतदार सब शौचालय प्रयोग करै यैछ ….. हँ ?

रणनीति बनाउँदै सारथिहरू

यस अभियानलाई कसरी प्रभावकारी बनाउने र लक्ष्यमा पुग्ने भन्नेबारे बृहत् रणनीतिक छलफल सम्पन्न भएको छ। वाटर एड नेपाल, दलित जनजागरण युवा क्लव र भिजन ३६० का पदाधिकारी तथा कर्मचारीहरू बीच भएको यो मन्थनले आगामी दिनको कार्यदिशा तय गरेको छ।

छलफलमा लहानका ४ हजार २ सय घरधुरीमा शौचालय पुर्‍याउने लक्ष्यलाई कसरी छिटो भन्दा छिटो हासिल गर्न सकिन्छ भन्नेमा जोड दिईएको छ । अभियानमा कसको भूमिका के हुने, अटो चालकदेखि स्थानीय जनप्रतिनिधिसम्मलाई कसरी परिचालन गर्ने र हरेक नागरिकलाई यो अभियानको हिस्सेदार कसरी बनाउने भन्ने विषयमा गहन रणनीति तय गरिएको छ ।

रणनीति तय गर्न आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा भिजन ३६० ले सचेतनामूलक अभियान अन्तर्गत गरिने कार्यक्रम र दलित जन कल्याण युवा क्लबले गरिने कार्यक्रमहरुको प्रस्तुतीकरण गरिएको थियो।

लहान नगरपालिकाले सरसफाइ तथा सार्वजनिक स्वास्थ्यमा देखापरेका चुनौतीहरू समाधान गर्न “घर–घरको शान, स्वच्छता अभियान” सञ्चालन भईरहेको छ । विश्व शौचालय दिवस, १९ नोभेम्बर २०२५ को अवसर शुभारम्भ गरिएको अभियानले खुला दिसा गर्ने अभ्यासलाई पूर्ण रूपमा अन्त्य गर्दै इम्ँ स्थिति पुनःस्थापना र दिगोपनाको सुनिश्चितता गर्ने, शौचालय प्रयोग र स्वच्छ बानीलाई सामुदायिक पहिचान तथा गर्वको रूपमा स्थापित गर्ने र दलित, गरिब, भूमिहीन तथा जोखिमयुक्त परिवारलाई पहिलो प्राथमिकतामा राखी सरसफाइ सेवा सुनिश्चित गर्ने उद्देश्य लिएको छ ।

लहान नगरपालिका २०१७ मै खुला दिसामुक्त क्षेत्र घोषणा भए तापनि सम्पन्न सरसफाइ अवस्था विश्लेषण, सरसफाइ सामाजिक नक्सांकन, तथा घरधुरी सर्वेक्षणले करिब १७ प्रतिशत परिवार पुनः खुला दिसातर्फ फर्किएको तथ्य उजागर गरेको थियो। सर्वेक्षण अनुसार ३ हजार ८०१ घरधुरीमा शौचालयको अभाव रहेको र ४ सय घरधुरीमा शौचालय बिग्रिएको वा प्रयोगयोग्य नभएको पाइएको थियो।

अभियान अन्तर्गत नगरका सबै २४ वडामा खुला दिसा अन्त्य गर्ने, घरायसी शौचालयको प्रयोग, मर्मत र व्यवस्थापनमा सुधार ल्याउने, सीमान्तकृत समुदायको सरसफाइ पहुँच र निर्णय प्रक्रियामा सहभागिता बढाउने र सरसफाइलाई गर्व, पहिचान तथा सामूहिक दायित्वका रूपमा स्थापित गर्ने लक्ष्य हासिल गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।

फोटोहरु : पी.टी.लोप्चन


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार