
बीरगन्ज : सरकारले घोषणा गरेको सरसफाइ सप्ताहको अवसरमा भारत सँगको प्रमुख प्रवेशद्वार मितेरी पुल, शंकराचार्य प्रवेशद्वारदेखि रजत जयन्तीसम्म सरसफाई गरिएको छ।
बीरगञ्ज महानगरपालिकाको आर्थिक सहयोग र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शको सहकार्यमा सरसफाइ गरिएको हो।
बीरगञ्जको सौन्दर्यकरण गर्ने क्रममा मितेरी पुल, शंकराचार्य प्रवेशद्वार र रजतजयन्ती चोकसम्म बृक्षारोपण गरिएका बिरूवाहरुमा समेत पानी हालेर सरसफाइ गरिएको थियो।
सौन्दर्यकरणका क्रममा मितेरी पुलको दायाँबायाँ १४ हजार स्क्वायर फिट जग्गामा प्राकृतिक घाँस लगभग तीनसय पाम र फोक्स्टल रुख तथा एक सयभन्दा बढी फूल बिरुवाहरु रोपिएका थिए।
सरसफाइ अभियानमा बीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले केही दिनभित्रै बीरगञ्जको पहिचान तथा झझल्को दिनेगरी बिधुतीय बोर्ड १७ फिटको राष्ट्रिय झण्डा र सौन्दर्यकरणको कामलाई निरन्तरता दिने बताउनु भयो।
हराभरा शहर बनाउने उद्देश्यसाथ गठन भएको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले सरसफाइ सप्ताहमा मात्र नभई ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र जुन उद्देश्यका साथ गठन भएको हो, त्यसैअनुरुप बीरगञ्ज सहरमा बृक्षारोपण कार्यक्रम सञ्चालन तथा रेखदेखमा निरन्तर रूपमा लागि परेको बताउनुभयो।


87 पटक हेरिएको 

