लहानमा ‘स्वच्छता अभियान’ तीव्रः सफल बनाउन अभियानकर्मीको दृढ प्रतिबद्धता

  वास खबर सम्बाददाता  198 पटक हेरिएको

लहान, सिरहा : सिरहाको लहान नगरपालिकामा सञ्चालित ‘घरघरको सान, स्वच्छता अभियान’ लाई सफल बनाउन सरोकारवालाहरू बीच सघन छलफल र रणनीतिक समीक्षा गरिएको छ।

अभियानलाई थप सशक्त बनाउँदै सफा र स्वच्छता अवस्था सुनिश्चित गराउने उद्देश्यले युथ च्याम्पियन, टोल तथा वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, लहान नगरपालिकाको वास युनिटका प्रमुख तथा नेपाल खानेपानी संस्थान लहानका मिटर रिडर, सामाजिक परिचालक र शिक्षक तथा शिक्षिका लगायत सरोकारवालासँग अन्तरक्रिया गरिएको हो।

अभियानलाई व्यवस्थित रूपमा अगाडि बढाउन लहानका २४ वटै वडामा संस्थागत संरचनाहरू सक्रिय रहेका छन् ।

वडा स्तरः २४ वटै वडामा वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति

टोल स्तरः वटा बस्तीहरूमा ८१ वटा टोल स्तरीय समन्वय समितिहरू।

युथ च्याम्पियनः हरेक टोल एक÷एक जना युवाहरूको सक्रिय नेतृत्व (युथ च्याम्पियन) परिचालन।

मुख्य चुनौतीहरू

छलफलका क्रममा अभियानकर्मीहरूले समुदाय स्तरमा काम गर्दा भोगेका वास्तविक समस्याहरू दर्शाएका थिए । विशेषगरी आर्थिक विपन्नता र जग्गाको अभाव र सरकारको आशा गर्ने बानी मुख्य बाधक देखिएका छन् ।

१. चरम गरिबीः बिहान खाए बेलुकी के खाने भन्ने चिन्ता रहेका परिवारलाई शौचालय निर्माणका लागि लगानी गर्न कठिन छ, युथ च्याम्पियन बबिता देवी सदायका अनुसार दैनिक गुजारा चलाउनै धौ–धौ हुने समुदायका लागि शौचालय प्राथमिकतामा पर्न सकेको छैन।

२. जग्गाको अभावः सुकुम्बासी बस्ती र घना बस्तीहरूमा शौचालय बनाउने ठाउँकै अभाव छ। विगतका अभियानहरू सफल हुन नसक्नुको मुख्य कारण पनि जग्गाकै समस्या रहेको अभियानकर्मीहरूको निष्कर्ष छ । जग्गा अभावका कारण कतिपय घरपरिवार एउटै घरमा बस्न बाध्य भएको युथ च्याम्पियनहरु बताउँछन् ।

३. चेतना स्तर : कतिपय अवस्थामा जग्गा र स्रोत भए पनि सरसफाइलाई महत्व नदिने र सरकारको मुख ताक्ने बानीले पनि शौचालय बन्न नसकेको उनीहरुको बुझाइ छ ।

आगामी रणनीति र प्रतिबद्धता

समस्याका पहाडहरू भए तापनि अभियानकर्मीहरू पछि नहट्ने कार्यक्रममा प्रतिबद्धता जनाएका छन् । आगामी दिनका लागि निम्न रणनीतिहरू तय गरेको छः
“जग्गाको अभाव र गरिबी ठूला समस्या हुन् । तर पनि विकल्पहरूको खोजी गर्दै यो अभियानलाई सफल बनाएरै छाड्ने युथ च्याम्पियन प्रतिक्षा कुमारी सिंहले बताउनुभयो।

सामुदायिक शौचालय : जग्गा नभएका स्थानमा सामुदायिक शौचालय निर्माण गर्नुपर्ने उनीहरुको तर्क थियो । द विकन परियोजना अन्तर्गत यस अघि नै लहानमा सामुदायिक शौचालय निर्माण भई सञ्चालनमा रहेकाले त्यस्ता बस्तीमा यस्ता शौचालयहरु एकदम प्रभावकारी हुने उनीहरुको बुझाइ छ ।

सहकार्य र समन्वयः स्थानीय सरकार र सरोकारवाला निकायसँग समन्वय गरी अति विपन्न परिवारका लागि विशेष राहत वा अनुदानको पहल गर्न सकिने वडा नं. ७ की युथ च्याम्पियन करिना विश्वकर्मा सदायाले बताउनुभयो। उहाँले आफ्नो क्षेत्रमा वडा कार्यालयले रिङ उपलब्ध गराउने भएपछि शौचालय धमाधम निर्माण भैरहेको बताउनुभयो।

 

 

निरन्तर फलोअपः घरदैलो कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै व्यवहार परिवर्तनका लागि निरन्तर फलोअप हुनुपर्ने उहाँहरुको बुझाइ छ ।

युथ च्याम्पियनहरूको ऊर्जा र विभिन्न तहमा गठन भएका वास समन्वय समितिहरुको सक्रियताले लहानलाई स्वच्छ र सफा नगर बनाउने लक्ष्य छिट्टै पूरा हुने दलित जनजागरण युवा क्लवका प्रोग्राम म्यानेजर राजेश लोहनीले बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार