
प्यूठान : गौमुखी गाउँपालिका प्युठानले नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ योजना अघि बढाएको छ। गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका विभिन्न खानेपानी योजना मार्फत ‘एक घर, एक धारा’ निर्माण कार्यलाई तीव्रता दिएको हो ।
पालिका भित्रका करिब ८५ प्रतिशत घरधुरीमा खानेपानीको सुविधा पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताउनुभयो ।
अहिले पालिकाले प्रत्येक घरमा धारा पुर्याउने गरी काम गरिरहेको बताउनुभयो । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सँग साझेदारी गरेर गाउँपालिकाले अहिले काम गर्दै आएको जनाएको छ । घर–घरमा धारा निर्माण भएपछि दैनिकीमा समेत सहजता भएको गौमुखी गाउँपालिका-६, लिवाङका मनबहादुर खत्रीले बताउनुभयो ।
गाउँका एक सय एक घरधुरीमा अहिले धारा निर्माण भएर खानेपानी सुचारु भएको उहाँको भनाइ छ । ‘पहिले सामूहिक रूपमा टोल अनुसार धारा थियो’ उहाँले भन्नुभयो, ‘अहिले एउटा घरमा एउटा धारा बनेको छ ।’
हालसम्म पालिकाभर एक हजार पाँच सय ४५ धरधुरीमा एक घर एक धारा सुविधा पुगेको गाउँपालिकाका इन्जिनियर शिव पुनले बताउनुभयो । गाउँपालिका मार्फत करिब ७००, लिफ्ट मार्फत २५० र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) कार्यक्रमको साझेदारीमा ५९५ घरधुरीमा धारा निर्माण भएको खबर गोरखापत्रले प्रकाशन गरेको छ।


102 पटक हेरिएको 

