सुर्खेतमा गाभिएपछि संघीय खानेपानीको जुम्ला स्थित कार्यालय प्रयोगविहीन

  वास खबर सम्बाददाता  125 पटक हेरिएको

जुम्ला : जुम्ला स्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय सुर्खेतमा गाभिएपछि करोडौं लगानीको सुविधा सम्पन्न भवन प्रयोगविहीन भएको छ । कर्णाली प्रदेशका खानेपानी तथा सरसफाइ आयोजना हेर्दै आएको कार्यालय जुम्ला सुर्खेतमा गाभिएपछि भवन प्रयोगविहीन भएको हो ।

सरकारले गत २०८१ चैत्र ११ गते खानेपानी मन्त्रालय र अन्तर्गतको निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्दै देशभरिका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरुलाई १५ वटा बनाएको थियो। पाँच वटा संघीय घटाउँदा जुम्ला स्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयलाई सुर्खेतमा गाभिएको थियो। १५ वटा स्थायी कार्यालयहरु बनाए सँगै कार्यालयको नाम समेत हेरफेर गरी खानेपानी तथा ढल व्यवस्थापन कार्यालय राखिएको छ ।

कार्यालय गाभिए पछि १२६ करोड लागतको धौलिगाड खानेपानी आयोजना अलपत्र परेको छ । कार्यालय भवन निर्माण भएर हस्तान्तरण नहुँदै संघीय खानेपानी कार्यालय खारेज भएपछि नयाँ भवन सञ्चालनमा नआउँदै स्थानीयले ताला लगाएका छन् । कर्णालीका पाँच जिल्लामा खानेपानी योजना निर्माणको काम गर्दै आएको कार्यालय अहिले फिल्ड इकाई कार्यालयका रूपमा सीमित भएको छ ।

फिल्ड इकाई कार्यालयमा एक जना इन्जिनियर, दुई जना सब–इन्जिनियर र एक जना कार्यालय सहयोगी मात्रै छन् । २ करोड ५० लाख लगानीमा निर्माण भएको साढे तीनतले नयाँ भवन, पुरानो भवन र एकतले नयाँ भवन छन् । तर कार्यालय खारेज भएपछि दुई ठुला भवन प्रयोगविहीन छन् भने एकतले भवनमा चार कर्मचारी बसिरहेका छन् । संघीयताको मर्म विपरीत कार्यालय खारेज भएको भन्दै जुम्लाका नागरिक अगुवाले भवनमा ताला लगाएका छन् । तर सरकारले भने आयोजना कार्यालयलाई फिल्ड इकाई कार्यालयमा सीमित गरिदिएको छ ।

फिल्ड इकाई कार्यालयका कर्मचारीले जुम्ला, मुगु र कालिकोटका हेरे पनि भुक्तानीदेखि अन्य सबै सुर्खेतबाट हुने गरेको छ । ‘धौलिगाड खानेपानी आयोजनालाई लक्षित गरी नयाँ भवन बनाइएको थियो,’ फिल्ड इकाइ कार्यालयका इन्जिनियर खगेन्द्र भण्डारीले भन्नुभयो ‘भवन पूर्ण हुन नपाउँदै कार्यालय खारेज भयो । भवन ठडिएको छ । तर कार्यालय छैन । कर्मचारी छैनन्। हामी एकतले भवनमा बसिरहेका छौं ।’

संघीयतासँगै गाउँगाउँमा सिंहदरबार आएको भन्दै उत्साहित नागरिक घरआँगनकै कार्यालय खारेज भएपछि साबिक कर्णालीवासी निराश भएको नागरिक अगुवा राजबहादुर महतले बताउनुभयो। ‘संरचना नभएर कार्यालय खारेज हुनु स्वाभाविक भए पनि पक्की भवन सहित दुईवटा कार्यालय भवन हुदाँहुँदै जुम्लाबाट संघीय कार्यालय खोसिनु हेपाहा प्रवृति हो उहाँले भन्नुभयो।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगर, जनकपुर, भक्तपुर, पोखरा र नेपालगन्जमा सहसचिवको दरबन्दी रहेको छ भने खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटा, खोटाङ, वीरगन्ज, रामेछाप, चितवन, लम्जुङ, बुटवल, सुर्खेत, डडेलधुरा र कन्चनपुर गरी १० वटा कार्यालयहरुमा सिनियर डिभिज्नल इन्जिनियर (उपसचिव) को दरबन्दी रहेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार