न्यूनतम लागतमा सुरक्षित शौचालय निर्माण गर्ने बिषयमा कालिगढहरुलाई तालिम

रोजगारीको अवसर समेत सिर्जना गर्ने

  वास खबर समाचारदाता  255 पटक हेरिएको
🔗
24
Shares

सिरहा : न्यूनतम लागतको सुरक्षित शौचालय निर्माण सम्बन्धी कालिगढहरुको तालिम सुरु भएको छ । लहान नगरपालिकामा जारी ‘घरघरको शान, स्वच्छता अभियान’ अन्तर्गत सम्पूर्ण घरपरिवारमा शौचालय निर्माणको सुनिश्चितता गर्न कालिगढहरुको सीप अभिवृद्धि सम्बन्धी तालिम दिईएको हो ।

न्युनतम लागतमा सुरक्षित शौचालय कसरी निर्माण गर्ने भन्ने बिषयमा तालिम केन्द्रित रहेको लहान नगरपालिकामा मेयर महेश चौधरीले बताउनुभयो। लहान नगरपालिकाले विभिन्न शौचालयहरुको मोडेल डिजाइन गरिएको र आर्थिक अवस्था अनुसार ती मोडेलहरु छानेर शौचालय निर्माण गर्न सकिने उहाँले बताउनुभयो।

लहान नगरपालिका, वाटर एड, दलित जनकल्याण युवा क्लब, नेपाल खानेपानी संस्थान र प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा भैरहेको तालिमा २० जना कालिगढहरुको सहभागिता रहेको छ। स्वच्छता अभियानको क्रममा कालिगढ नपाई रहेको गुनासो आएपछि पहिलो चरणमा २० जनालाई तालिममा सहभागी गराएको र यसले रोजगारी समेत सिर्जना गर्ने मेयर चौधरीले बताउनुभयो।

लहान नगरपालिका २०१७ मै खुला दिसामुक्त क्षेत्र घोषणा भए तापनि सम्पन्न सरसफाइ अवस्था विश्लेषण, सरसफाइ सामाजिक नक्सांकन, तथा घरधुरी सर्वेक्षणले करिब १७ प्रतिशत परिवार पुनः खुला दिसातर्फ फर्किएको तथ्य उजागर गरेको थियो। सर्वेक्षण अनुसार ३ हजार ८०१ घरधुरीमा शौचालयको अभाव रहेको र ४ सय घरधुरीमा शौचालय बिग्रिएको वा प्रयोगयोग्य नभएको पाईए पछि नगरपालिकामा “घर–घरको शान, स्वच्छता अभियान” सञ्चालन भईरहेको छ ।

अभियानले खुला दिसा गर्ने अभ्यासलाई पूर्ण रूपमा अन्त्य गर्दै खुला दिसामुक्त क्षेत्रको पुनःस्थापना र दिगोपनाको सुनिश्चितता गर्ने, शौचालय प्रयोग र स्वच्छ बानीलाई सामुदायिक पहिचान तथा गर्वको रूपमा स्थापित गर्ने र दलित, गरिब, भूमिहीन तथा जोखिमयुक्त परिवारलाई पहिलो प्राथमिकतामा राखी सरसफाइ सेवा सुनिश्चित गर्ने उद्देश्य लिएको छ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार