
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूले भोग्दै आएका नीतिगत, कानुनी तथा व्यवहारिक समस्याको समाधानका लागि राष्ट्रिय परामर्श भेला तथा ध्यानाकर्षण कार्यक्रम गरिएको छ।
संघ, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, उपभोक्ता संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको सहभागितामा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल ( फेडवासन) ले कार्यक्रम आयोजना गरेको हो।
प्रतिनिधि सभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको प्रमुख आतिथ्यता तथा प्रतिनिधि सांसदहरु श्रद्धा कुँवर र केपी खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा देशभरका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था तथा समितिका अध्यक्ष, प्रतिनिधि, महासंघका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
भेलामा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूले भोगिरहेका कानुनी जटिलता, नीतिगत अस्पष्टता, करसम्बन्धी समस्या तथा संस्थागत चुनौतीबारे छलफल गरिएको थियो। सहभागीहरूले सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा संस्थागत सुदृढीकरणका लागि सरकारको स्पष्ट नीति र सहयोग आवश्यक रहेको बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद केपी खनाल र श्रद्धा कुँवरले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका समस्या समाधानका लागि सरकारसमक्ष औपचारिक रूपमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। सेवा प्रवाहको गुणस्तर सुधार तथा दीगो व्यवस्थापनका लागि आवश्यक सहयोग उपलब्ध गराउने सांसदहरुले प्रतिबद्धता ब्यक्त गर्नुभयो।
त्यसैगरी प्रमुख अतिथि आशिष गजुरेलले खानेपानी तथा सरसफाइ सेवा नागरिकको आधारभूत आवश्यकता तथा मौलिक हकसँग जोडिएको विषय भएकाले उपभोक्ता संस्थाहरूले उठाएका मुद्दा प्रतिनिधि सभा तथा सम्बन्धित निकाय मार्फत प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो।
औपचारिक कार्यक्रम अघि खानेपानीमा कर छुट तथा विद्युत महसुलमा सहुलियतको माग गर्दै बिहान काठमाडौंको माइतीघर मण्डलामा ध्यानाकर्षण कार्यक्रम समेत गरिएको थियो।
ध्यानाकर्षण कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले खानेपानी सेवा अत्यावश्यक क्षेत्र भएकाले यसमा कर लगाइनु उपयुक्त नभएको बताउनुभयो। उहाँले खानेपानी सेवामा पूर्ण कर छुट, विद्युत महसुलमा विशेष सहुलियत तथा उपभोक्ता संस्थालाई राहत पुग्ने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।

महासंघले राष्ट्रिय परामर्श भेला तथा ध्यानाकर्षण कार्यक्रम मार्फत खानेपानी तथा सरसफाइ क्षेत्रका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन र तथा साझा धारणा बनाउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो।


390 पटक हेरिएको 

