
काठमाडौं : ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले वाग्मती नदी किनारबाट सुकुम्बासी बस्ती हटाइएपछि खाली भएका क्षेत्रहरूमा ढल व्यवस्थापन सम्बन्धी संरचना बाहेक अन्य भवन तथा भौतिक संरचना निर्माण नगर्न आग्रह गर्नुभएको छ।
उहाँले ती स्थानलाई हरित क्षेत्र तथा सार्वजनिक पार्कका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम’ (Scaling Citywide Inclusive Sanitation Service Systems) को मध्यावधि समीक्षा गोष्ठीमा मेयर महर्जनले वाग्मती नदी प्रदूषण नियन्त्रणका लागि नदी किनार संरक्षण, ढल व्यवस्थापन र खुला हरित क्षेत्र विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

उहाँले काठमाडौं उपत्यकाको सुन्दरीघाट र बालकुमारीमा निर्माणाधीन फोहोर प्रशोधन केन्द्रहरू अझै सम्पन्न हुन नसकेको उल्लेख गर्दै ती आयोजना शीघ्र सम्पन्न गर्न आवश्यक रहेको धारणा समेत राख्नुभयो।
उहाँले वाग्मती नदी प्रदूषण हुनुमा नदी किनारका सुकुम्बासी बस्ती पनि एक प्रमुख कारण रहेको बताउँदै बस्ती हटाइएपछि समस्या समाधान तर्फ अगाडि बढ्ने अपेक्षा गर्नुभयो ।
ललितपुरको पाटन क्षेत्रमा युरोपियन स्तरको सार्वजनिक शौचालय निर्माण गरिएको जानकारी दिँदै उहाँले निकट भविष्यमै ललितपुरमा स्नान सुविधा सहितको आधुनिक सार्वजनिक शौचालय उद्घाटन गरिने बताउनुभयो।
नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम’ सञ्चालित सातै प्रदेशका सात नगरपालिका तथा तीन रणनीतिक नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वास (WASH) फोकल पर्सन तथा सरोकारवाला निकायहरूको सहभागितामा मध्यावधि समीक्षा गरिएको छ ।

कार्यक्रममा हालसम्म सम्पादन भएका कार्यक्रमहरु उपलब्धीमूलक रहेको निष्कर्ष सहित दश वटै नगरपालिकाले आगामी ६ महिनाभित्र गरिने कामहरुको कार्ययोजना बनाईएको छ ।

कार्यक्रम कार्यान्वयित नगरपालिकाहरु
१. गोदावरी नगरपालिका, कैलाली सुदुरपश्चिम प्रदेश
२. शारदा नगरपालिका, सल्यान, कर्णाली प्रदेश
३. घोराही उपमहानगरपालिका, दाङ लुम्बिनी प्रदेश
४.गोरखा नगरपालिका, गोरखा, गण्डकी प्रदेश
५. ललितपुर महानगरपालिका, ललितपुर, वाग्मती प्रदेश
६. लहान नगरपालिका, सिरहा, मधेस प्रदेश
७. मेचीनगर नगरपालिका, झापा, कोशी प्रदेश

गेटस् फाउण्डेसनको वित्तिय व्यवस्थापनमा कार्यान्वयन भैरहेको ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम’ को यु.एन.ह्याबिटाट (UN-Habitat) कार्यकारी निकाय हो।
नेपाल नगरपालिका संघ, वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र कार्यक्रमका साझेदार संस्थाहरु हुन् ।



220 पटक हेरिएको 

