दिसाजन्य लेदो प्रशोधन केन्द्रमा क्षमता भन्दा तेब्बर माग, पहिले क्षमता विस्तार, अनि मात्र नियमन

  वास खबर सम्बाददाता  304 पटक हेरिएको
🔗
41
Shares

काठमाडौ : कैलालीको गोदावरी नगरपालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्रको क्षमता भन्दा माग झण्डै तेब्बर बढी रहेको पाईएको छ ।

नगर प्रमुख बीरेन्द्र भट्टका अनुसार नगरपालिका भित्र दिसाजन्य लेदो व्यवस्थापनको दैनिक माग २८ देखि ४३ घनमिटर प्रति दिन रहेको छ। तर हाल सञ्चालनमा रहेको दिसाजन्य लेदो प्रशोधन केन्द्रक (एफएसटीपी) को प्रशोधन क्षमता भने जम्मा १३ घन मिटर (१३ हजार लिटर) प्रति दिन मात्रै रहेको छ।

प्रशोधन केन्द्रको क्षमता भन्दा बढी माग आएपछि नगरपालिकाले त्यसको नियमन भन्दा पनि प्रशोधन केन्द्रको क्षमता विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। नगरपालिकाले आवश्यक भौतिक संरचना विस्तारका लागि बाह्य तथा आन्तरिक स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

नगरपालिकाले अहिले छुट्टै नयाँ ऐन वा नियमावली ल्याउनुभन्दा पहिले हाल उपलब्ध कानुनी प्रावधान, पूर्वाधार र सेवा क्षमताको मूल्यांकन गरिएको जनाएको छ। ‘पर्याप्त विकल्प र सेवा क्षमता बिना कडा कानुनी व्यवस्था लागू गर्दा नगरबासीलाई समस्या हुन सक्ने भएकाले हामी यसको क्षमता विस्तार गर्ने पक्षमा लागेका छौं’ मेयर भट्टले भन्नुभयो।

एसियाली विकास बैंकको ऋण लगानीमा शहरी विकास तथा भवन निर्माण विभागले क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत भ्याट सहित ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपैयाँ लागतमा चौकीडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण भएके एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र गत साल साउन महिना देखि मात्र सञ्चालनमा ल्याईएको हो ।

त्यसैगरी, नगरस्तरीय समावेशी सरसफाइलाई व्यवस्थित बनाउन तथ्याङ्क व्यवस्थापन र प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको उहाँले बताउनुभयो। यस्तै दिसाजन्य लेदो व्यवस्थापनको दैनिक माग, परिचालन अवस्था तथा नियमित विवरण अद्यावधिक गर्ने काम एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र मार्फत भइरहेको जनाइएको छ।

प्रशोधन केन्द्रबाट निस्कने पानीको गुणस्तर परीक्षणका लागि नियमित नमुना सङ्कलन तथा ल्याब परीक्षण भइरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन प्रणालीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन माग र आपूर्ति चक्रको समेत अनुगमन गरिरहेको जनाएको छ।

नगरपालिकाका अनुसार आवश्यक थप विवरण सङ्कलन भएपछि दिसाजन्य लेदो व्यवस्थापनका लागि दिगो व्यावसायिक योजना पनि तयार गरिनेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार