नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिका १ भाल्चेमा रहेको जल्जुखोला माध्यमिक विद्यालयमा प्याड इन्सिनेटर सहित सरसफाइ सुविधा व्यवस्था गरिएको छ । भूकम्पबाट अति प्रभावित समुदायका लागि पुनस्र्थापना कार्यक्रम अन्तर्गत डिएफआइडीको आर्थिक र एसिएफको प्राविधिक सहयोगमा गेर्खुृटार युवा क्लवले विद्यालयमा खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराएको हो ।
१६ लाख २८ हजार ८५३ रुपैयाँको लागतमा विद्यालयमा प्यान सहितको ४ वटा शौचालय र २ वटा युरिनल तथा एउटा प्याड इन्सिनेरेटर निर्माण गरिएको छ । यस्तै पानी पिउन बालमैत्री धारा र एउटा बायोस्याण्ड फिल्टरको व्यवस्था गरिएको छ ।

विद्यालयमा सरसफाइ सुविधा उपलब्ध भएपछि शिक्षक शिक्षिका सहित २८० जना भन्दा बढी लाभान्वित भएका छन् । विद्यालयमा पानीको सुविधा भएपछि परिचरले ओसारेर खुवाउनुपर्ने बाध्यता हटेको प्रधानाध्यापक चिनीमाया तामाङले बताउनुभयो । ‘विद्यालयको परिचर पानी ओसार्नमै ठिक्क हुन्थ्यो, अहिले बालबालिकाको उचाइ अनुसारका धारा भएपछि विद्यार्थीले प्यास सहेर बस्नुपरेको छैन’ प्रधानाध्यापक तामाङले बताउनुभयो ।
प्याड इन्सिनेरेटरको व्यवस्था भएपछि छात्राहरुलाई प्याड फेर्न र विसर्जन गर्न पनि सजिलो भएको छ । ‘भूकम्पले विद्यालय र शौचालय दुवै भत्किएपछि दिसापिसाब गर्न समेत खुला ठाउँमा जानुपर्ने अवस्था थियो, त्यत्तिबेला शिक्षकहरु समेत खुला ठाउँमै दिसापिसाब गर्न बाध्य थिए’ प्रधानाध्यापक तामाङ भन्नुहुन्छ ‘त्यत्तिबेलाको अवस्था सम्झिने हो भने विद्यालयमा सबै सरसफाइ सुविधा उपलब्ध भएको छ ।’

बालमैत्री धारा सहित सबै सरसफाइ सुविधा उपलब्ध भएपछि विद्यालयको पठनपाठनमा समेत सघाउ पुगेको छ । पानीको अभावमा बीचैमा कक्षा छाडेर घर जाने बालबालिका विद्यालयमै अडिएका छन् भने प्याड फेर्न मिल्ने सुरक्षित चर्पी भएपछि महिनावारी भएको समयमा समेत बालिकाहरु नियमित आउने गरेको प्रधानाध्यापक तामाङले बताउनुभयो ।


889 पटक हेरिएको 

