
लहान : प्रणाली सुदृढीकरण मार्फत पानी, सरसफाइ तथा स्वच्छता (WASH) दृष्टिकोण अपनाई दिगो विकास लक्ष्य (SDG 6) हासिल गर्ने उद्देश्य सहित परियोजना शुभारम्भ कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
गोष्ठीमा सिराहाका कर्जनहा नगरपालिका, विष्णुपुर गाउँपालिका, गोलबजार नगरपालिका तथा सप्तरीका सप्तकोशी नगरपालिका र अग्नीसाईर कृष्णासवर गाउँपालिकामा वास (WASH) परियोजना सञ्चालन तथा बजेट व्यवस्थापन सम्बन्धी विस्तृत छलफल गरिएको छ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको पहुँच विस्तार गर्न स्थानीय तह प्रतिबद्ध रहेको बताएका छन्। अग्नीसाईर कृष्णासवर गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले प्रणाली सुदृढीकरणमा आधारित WASH दृष्टिकोणले स्थानीय तहमा सुरक्षित खानेपानी, गुणस्तरीय सरसफाइ तथा स्वच्छता सेवा विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै पालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।

त्यस्तै, गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम श्रेष्ठले स्थानीय तहमा सञ्चालन गरिएका सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यक्रम प्रभावकारी र प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले समुदायस्तरमा व्यवहार परिवर्तन तथा दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कर्जन्हा नगरपालिकाकी उपप्रमुख लक्ष्मी श्रेष्ठले वास प्रणाली सुदृढीकरणले दीर्घकालीन रूपमा सुरक्षित पानी, सुधारिएको सरसफाइ तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्दै समृद्ध समाज निर्माणमा योगदान पुग्ने बताउनुभयो। उहाँले महिला क्रिकेट बिकासका लागि समेत बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा सबल नेपालका निर्देशक दिपक झाले दिगो विकास लक्ष्य नम्बर ६ अर्थात् ‘सबैका लागि स्वच्छ पानी र सरसफाइ सुनिश्चित गर्ने’ लक्ष्य प्राप्तिका लागि नीति निर्माण, योजना तर्जुमा, पूर्वाधार विकास, क्षमता अभिवृद्धि तथा समुदायको सक्रिय सहभागितामा आधारित प्रणाली सुदृढीकरण आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठले वास परियोजना तेस्रो चरण अन्तर्गत सिराहामा सबल नेपाल तथा सप्तरीमा महुली सामुदायिक विकास केन्द्र मार्फत कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनुभयो।
आयोजकका अनुसार परियोजनाले स्थानीय तहको क्षमता अभिवृद्धि, समुदायको सहभागिता वृद्धि तथा दीर्घकालीन रूपमा सुरक्षित पानी, सरसफाइ र स्वच्छता सेवा सुनिश्चित गर्दै दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

Welthungerhilfe (WHH) को सहयोगमा तथा सबल नेपाल र महुली समुदाय बिकास केन्द्रको सहकार्यमा आयोजित तीन दिने गोष्ठीको समापन कार्यक्रम सिराहाको लहानमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा गाउँपालिका महासँघका प्रतिनिधि, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, वास फोकल पर्सन, वाटर एडका प्रतिनिधि लगायत ४५ जनाको सहभागिता रहेको माहुली समुदाय बिकास केन्द्रका ईन्जिनयर ओम प्रकाश पण्डितले जानकारी दिनुभयो।



251 पटक हेरिएको 

