
सल्यान : सल्यानको दार्मा गाउँपालिकामा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता योजनाहरूको सामाजिक उत्तरदायित्व, पारदर्शिता तथा दिगोपना सुनिश्चित गर्ने उद्देश्यले विभिन्न योजनाहरूको सामाजिक लेखापरीक्षण, सामाजिक परीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएका छन्।
दार्मा गाउँपालिका वडा नं. २ मा रहेको लसुनधारी–घुसखोला खानेपानी, सरसफाइ तथा स्वच्छता योजना अन्तर्गत ३२ घरधुरीलाई स्वच्छ तथा दिगो खानेपानी सेवा प्रदान गर्ने उद्देश्यले आयोजित योजनाको तेस्रो सामाजिक लेखापरीक्षण तथा खानेपानी उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। यससँगै चालु आर्थिक वर्षमा दुई वटा खानेपानी योजना सम्पन्न भइसकेका छन् भने अन्य योजनाहरू निर्माणको अन्तिम चरणमा रहेका छन्। बाँकी योजनाहरूको उद्घाटन यही जेठ महिनाको अन्तिमसम्म सम्पन्न हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

योजना अध्यक्ष प्रेमबहादुर कामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दार्मा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडा अध्यक्ष, सामाजिक विकास समिति संयोजक, इन्जिनियर, लेखा प्रमुख, PSU कार्यालयका Quality Control Officer, WASH Advisor, वास इकाईका कर्मचारी, उपभोक्ता समिति पदाधिकारी तथा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सामाजिक लेखापरीक्षण मार्फत योजनाको आर्थिक तथा भौतिक प्रगति, पारदर्शिता, उत्तरदायित्व र उपलब्धिहरूको समीक्षा गरिएको थियो। साथै निर्माण सम्पन्न खानेपानी ट्यांकी तथा धाराको उद्घाटन समेत गरिएको थियो। उक्त योजनाले समुदायमा सुरक्षित खानेपानी पहुँच विस्तार गर्दै स्वस्थ, स्वच्छ र समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

त्यसैगरी दार्मा गाउँपालिका वडा नं. ५ मा सञ्चालित ब्रहाखोला–स्यालदुले–पातीहाल्न–साङ्ट खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाको तेस्रो सामाजिक परीक्षण तथा अनुगमन कार्यक्रम पनि सम्पन्न भएको छ। दार्मा गाउँपालिका र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (SUSWA) को साझेदारीमा सञ्चालित उक्त आयोजनाबाट ७१ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

कार्यक्रममा आयोजनाको आर्थिक, भौतिक तथा वित्तीय प्रगतिबारे जानकारी प्रस्तुत गर्नुका साथै पारदर्शिता, उत्तरदायित्व र दिगोपनाका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी, उपाध्यक्ष जुना मल्ल चन्द, SUSWA/PSU का Quality Control Officer, WASH Advisor, गाउँपालिकाका इन्जिनियर तथा कर्मचारीहरू, वास इकाईका कर्मचारीहरू, सञ्चारकर्मी, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा आयोजनाको स्थलगत अनुगमन समेत गरिएको थियो। सहभागीहरूले आयोजनाको निर्माण तथा सञ्चालनबाट स्थानीय नागरिकहरूले स्वच्छ, सुरक्षित तथा दिगो खानेपानी सेवामा पहुँच प्राप्त गरेको उल्लेख गर्दै यसको संरक्षण, नियमित मर्मतसम्भार तथा प्रभावकारी व्यवस्थापनमा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।

दार्मा गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको दिगो विकासका लागि समुदायमुखी योजना निर्माण, प्रभावकारी कार्यान्वयन र नियमित सामाजिक परीक्षण तथा लेखापरीक्षणलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। यस्ता कार्यक्रमहरूले स्थानीय तहमा सुशासन प्रवर्द्धन गर्नुका साथै नागरिकको सुरक्षित खानेपानीमा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

फोटोहरु : दीप चन्द, वास को-अर्डिनेटर, दार्मा गाउँपालिका सल्यान


486 पटक हेरिएको 

