
चैनपुर : गोर्खा वेल्फेयर ट्रष्ट नेपालद्वारा सञ्चालित चापाभै खानेपानी तथा सरसफाइ आयोजना एक समारोह बीच स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ।
उपभोक्ता समितिका अध्यक्ष आनन्द देवानको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा चैनपुर नगरपालिका–८ का वडा अध्यक्ष देवराज राई तथा गोर्खा वेल्फेयर ट्रष्ट, एरिया वेल्फेयर सेन्टर खाँदबारीका एरिया वेल्फेयर अफिसर क्याप्टेन रिटायर प्रताप सिंह राईको उपस्थितिमा समुदायलाई हस्तान्तरण गरिएको हो।

स्थानीय बासिन्दालाई स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच उपलब्ध गराई जीवनस्तर सुधार गर्ने उद्देश्यले आयोजना सञ्चालन गरिएको गोर्खा वेल्फेयर ट्रस्ट नेपालका प्रोजेक्ट सुपरभाइजर जोगमल शाहीले बताउनुभयो।
कार्यक्रममा बोल्दै वक्ताहरूले आयोजनाको सफल कार्यान्वयनमा सहयोग पुर्याउने गोर्खा वेल्फेयर ट्रष्ट नेपाल, स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति तथा सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्नुभयो। उहाँहरूले निर्माण गरिएका संरचनाको दीगो व्यवस्थापन, संरक्षण तथा नियमित मर्मतसम्भारमा समुदायको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो।
आयोजना अन्तर्गत कुल १२ हजार २८० मिटर पाइपलाइन विस्तार गरिएको छ। साथै ६२ घरधुरी धारा र २ वटा संस्थागत धारा गरी कुल ६४ वटा धारा निर्माण गरिएका छन्। यसबाट ३०८ जना स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

गोर्खा वेल्फेयर ट्रष्ट नेपालका प्रोजेक्ट सुपरभाइजर जोगमल शाहीको प्रत्यक्ष सुपरिवेक्षणमा कार्यान्वयन गरिएको आयोजनाको कुल वास्तविक लागत ६५ लाख ९ हजार २ सय ७७ रुपैयाँ ८१ पैसा रहेको छ। जसमध्ये गोर्खा वेल्फेयर ट्रष्ट नेपालको योगदान ५४ लाख ४ हजार ५ सय ५२ रुपैयाँ ८१ पैसा रहेको छ भने उपभोक्ताहरूको जनश्रमदान तथा नगद योगदान ११ लाख ४ हजार ७ सय २५ रुपैयाँ रहेको छ।

कार्यक्रममा आयोजनाको आय–व्यय विवरण गोर्खा वेल्फेयर ट्रष्ट नेपालका प्रोजेक्ट म्यानेजर देवेन्द्र कुमार च्यामजुङले प्रस्तुत गर्नुभएको थियो।

स्थानीयवासीहरूले आयोजनाले वर्षौंदेखिको स्वच्छ खानेपानी समस्याको समाधानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै खुशी व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा आयोजना सम्बन्धी आवश्यक कागजातहरू हस्तान्तरण गरी आयोजना औपचारिक रूपमा समुदायलाई जिम्मा लगाइएको थियो। कार्यक्रमको सञ्चालन आयोजनाका सचिव नवीन कुमार राईले गर्नुभएको थियो।
फोटोहरु : जोगमल शाही/GWT


309 पटक हेरिएको 

