
सल्यान : सल्यानको दार्मा गाउँपालिकाको गाउँसभामा मानव मलमूत्र व्यवस्थापनको बिषय उठेको छ । गाउँसभाको १९औं अधिवेशनमा नीति तथा कार्यक्रम र अर्थ विधेयक माथिको छलफलमा गाउँ सभा सदस्यहरुले मानव मलमूत्रको सुरक्षित व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।
सभाका सदस्यहरुले मानव मलमूत्रको असुरक्षित विसर्जनकै कारण खानेपानीमा इकोली जस्ता जीवाणुहरु देखिएको उल्लेख गर्दै यसको सुरक्षित व्यवस्थापन हुन नसके जनस्वास्थ्य खतरामा पर्ने बताउनुभयो।

केही समय पहिले सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाले दार्मा गाउँपालिकाको पानीको स्रोत तथा ट्यांकीको पानीको गुणस्तर परिक्षण गर्दा इकोली भेटिएको जानकारी गराउँदै गाउँ सभा सदस्य जयराम खड्काले शौचालयको सेप्टिक ट्याङ्कबाट रसाउँदै खानेपानीको स्रोतमा मिसिएको हुन सक्ने बताउनुभयो।
उहाँले यसको समाधानको उपाय समेत बताउँदै यसका लागि दुईखाल्डे चर्पी निर्माण गर्नुपर्ने र शौचालयको फोहोर कहीं कतै नचुहिने र नरसाउने गरी बनाउनुपर्ने सुझाव दिनुभयो।

यस्तै अर्का गाउँसभा सदस्य शंकरे बुढाले दार्मामा लिप्टिङ खानेपानी तथा सरसफाइ आयोजनाहरु सञ्चालनमा रहेको र उपभोक्ता समितिहरुसँग दक्ष जनशक्ति नहुँदा दिगो सेवामा असर पर्ने भएकाले दक्ष प्राविधिकको व्यवस्थापन गर्न माग गर्नुभयो ।

सभामा उठेका प्रश्नहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष एवं सभाध्यक्ष निम बहादुर केसीले नीति तथा कार्यक्रमलाई संशोधन गरी खानेपानी तथा सरसफाइ सँग सम्बन्धित महत्वपूर्ण सुझावहरुलाई समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

१९ औं अधिवेशनमा दार्मा गाउँपालिकाको नीति तथा कार्यक्रम र अर्थ विधेयक सर्वसम्मतिले पारित गरेको छ भने आगामी आर्थिक बर्ष २०८३/०८४ को अनुमानित आय व्यय सहित बजेट प्रस्तुत गरिएको छ ।


314 पटक हेरिएको 

