
दैलेख: कर्णाली प्रदेशको दुल्लु नगरपालिकास्थित दुल्लु नगर अस्पताल र कालभैरव स्वास्थ्य चौकीमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) र स्वास्थ्य सेवा संस्थाको फोहोर व्यवस्थापन (Health Care Waste Management–HCWM) सँग सम्बन्धित निर्माण सम्पन्न भएका विभिन्न पूर्वाधार तथा संरचनाहरू सम्बन्धित स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको छ।
यी पूर्वाधारहरू युनिसेफ नेपाल र रुकुमेली समाज विकास केन्द्र (RSDC), रुकुम को साझेदारीमा सञ्चालित “WASH in Health Care Facilities” परियोजना अन्तर्गत निर्माण सम्पन्न भएका हुन्।
हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री धनश्याम भण्डारी, दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजाल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

परियोजना अन्तर्गत स्वास्थ्य संस्थाहरूमा सुरक्षित र स्वच्छ स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न स्वच्छ खानेपानी, सरसफाइ, संक्रमण रोकथाम (Infection Prevention and Control–IPC) तथा स्वास्थ्यजन्य फोहोरको सुरक्षित व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ।
रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र वलीले निर्माण सम्पन्न पूर्वाधारहरूले स्वास्थ्य संस्थाहरूमा प्रदान गरिने सेवालाई अझ सुरक्षित, गुणस्तरीय, प्रभावकारी तथा सेवाग्राहीमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले समुदायको स्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउँदै दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न यस्ता सहकार्य र साझेदारीका पहलहरू प्रेरणादायी र प्रभावकारी हुने बताउनुभयो।

परियोजना अन्तर्गत निर्माण गरिएका खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) र स्वास्थ्य सेवा संस्थाको फोहोर व्यवस्थापन (HCWM) सम्बन्धी पूर्वाधारहरूले स्वास्थ्य संस्थाहरूमा स्वच्छ वातावरण कायम राख्न, संक्रमणको जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्यजन्य फोहोरको सुरक्षित व्यवस्थापन सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


188 पटक हेरिएको 

