
सल्यान : सल्यानको दार्मा गाउँपालिकाले एकै साथ ३ वटा टोल विकास संस्थालाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरेको छ। पूर्ण सरसफाइ उन्मुख टोल घोषणाका लागि पूर्ण सरसफाइ सम्बन्धीका ६ सूचक र सबै उपसूचकहरु पूरा गरेपछि गाउँपालिकाले ती टोलहरुलाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो।

पूर्ण सरसफाइ अभियानलाई थप सशक्त बनाउने उद्देश्यका साथ आइतबार आयोजित कार्यक्रममा गाउँपालिका स्तरीय पोषण मेला पनि सम्पन्न गरिएको हो।
नवघोषित ३ वटा टोलसँगै दार्मा गाउँपालिकामा पूर्ण सरसफाइ उन्मुख घोषणा गरिएका टोलको संख्या २७ पुगेको छ। गाउँपालिकाले वि.सं. २०८४ भित्र सम्पूर्ण दार्मा गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने लक्ष्य लिएको जनाएको छ।
सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाले पालिकाको साझेदारीमा सल्यानको दार्मा सहित कर्णालीको २८ वटा पालिकामा पूर्ण सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी निर्धारित सूचकहरू पूरा गर्दै स्वस्थ, सफा र स्वच्छ समुदाय निर्माणमा उल्लेखनीय योगदान पुर्याएका ती टोलहरूलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान सहित पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो।

यस अवसरमा आयोजित गाउँपालिका स्तरीय पोषण मेलामा सन्तुलित आहार, बाल तथा मातृ पोषण, स्थानीय पौष्टिक खाद्य परिकारहरूको प्रदर्शनी, पोषण सम्बन्धी जनचेतनामूलक सन्देश तथा विविध जानकारीमूलक गतिविधिहरू सञ्चालन गरिएका थिए। मेलाले स्थानीय नागरिकमा पोषण, स्वस्थ जीवनशैली तथा सरसफाइप्रति सकारात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असविर बुढाथोकीले पूर्ण सरसफाइ र पोषण स्वस्थ समाज निर्माणका आधारभूत स्तम्भ भएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई दिगो बनाउन सबै नागरिक, टोल विकास संस्था तथा सरोकारवाला निकाय बीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले दार्मा गाउँपालिकाले सरसफाइ तथा पोषणका क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै २०८४ भित्र पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने लक्ष्य सफल हुने विश्वास व्यक्त गर्नुभयो।
दार्मा गाउँपालिकाले आगामी दिनहरूमा पनि पूर्ण सरसफाइको दिगोपना कायम राख्दै पोषण सुधार, सुरक्षित खानेपानी तथा स्वच्छता प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, शिक्षक, महिला समूह, आमा समूह, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।





फोटोहरु : दीप चन्द/दार्मा गाउँपालिका, वास इकाई


237 पटक हेरिएको 

