महिला दिवसमा चर्पी बनाउने महिला सम्मानित

विनोद धौलागिरि, ज्यामिरगढी (झापा)

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आफ्नो घरमा सुरक्षित चर्पी बनाउने विपन्न, सुकुम्बासी र एकल महिलाहरुलाई सम्मान गरिएको छ ।

 

मेचीनगर नगरपालिकाको ज्यामिरगढीमा ज्यामिरगढी महिला समूहद्वारा आयोजना गरिएको कार्यक्रममा विपन्न वर्गबाट पहिलो पटक आफ्नो घरमा चर्पी निर्माण गर्ने ललिता राजवंशी, एकल तथा अति विपन्न तालमोही हेमरम र अन्दारी राजवंशी, विपन्न वर्गकी रुपसरी ताजपुरिया तथा एकल महिला वाना राजवंशीलाई सम्मान गरिएको हो । उहाँहरुलाई दोसल्ला ओढाउनुका साथै सरसफाइ सामग्रीबाट सम्मानित गरिएको थियो ।

 

कार्यक्रमका वक्ताहरुले चर्पी नभएको घर यातनागृहजस्तै हुने र त्यहाँ महिलाको सुरक्षाको समेत सुनिश्चितता नहुने बताउनुभयो । “जुन घरमा सुरक्षा हुँदैन, त्यहाँ स्वतन्त्रता र अपनत्व समेत हुँदैन”, बिराट सामुदायिक अध्ययन केन्द्रका खुल्ला दिसामुक्त अभियान संयोजक महेन्द्र कार्कीले भन्नुभयो, “महिलाको इज्जत, स्वाभिमान र सम्मानको सुरुवात घरमा सुरक्षित चर्पी बनाएर गरौं ।”

सामाजिक अगुवा देवीमाया खवासले महिलाहरु अधिकारका लागि संगठित र प्रतिवद्ध हुनुपर्ने बताउँदै आफ्नो र आफ्नो ठाउँको पहिचान समेत स्थाापित गर्नुपर्ने बताउनुभयो । “हामी माटोलाई पूजा गर्छौं, मातृभूमि भन्छौं । आमा र भूमि दुबैले जीवन दिन्छन्”, उहाँले भन्नुभयो, “घरमा चर्पी बनाउँदा आमाको पनि सम्मान हुन्छ, आफू बस्ने धर्ती पनि प्रदूषित हुँदैन ।”

चर्पी बनाएर जीवन बचाउन बालिकाको अनुरोध

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा झापाको कोरोबारीमा बालिकाहरुले घरमा चर्पी बनाएर आफ्नो जीवन बचाउन अभिभावकहरुलाई अनुरोध गरे । “हजूरले घरमा चर्पी बनाउन ढिलो गर्दा हजूरकी नातिनी प्रत्येक दिन दिसा पिसाव गर्ने बेलामा असुरक्षित भइरहेकी हुन्छन्”, स्थानीय पाइकी राजवंशीलाई छिटो चर्पी बनाइसक्न अनुरोध गर्दै बालिका ईश्वरी मडीले भन्नुभयो, “आज महिलाहरुको महत्वपूर्ण दिन हो । आज चर्पी बनाउनुभयो भने हजूरलाई महिलाहरुले जुगौं जुगसम्म सम्झिनेछन् ।”

 


ईश्वरीको अनुरोधपछि पाइकी राजवंशीको मन पग्लियो । “सामान ल्याइसकेकी छु, चर्पी त दुई दिनभित्र बनाइसक्छु”, पाइकीले भन्नुभयो, “घरमा सल्लाह गरेर नुहाउने ठाउँ पनि बनाउँछु । लुकेर दिसा पिसाव गरेपछि किन खुल्लामा नुहाउनु ?”

महिलाहरुको -याली, घरदैलो र स्टिकर अभियान

आफ्नो घरमा चर्पी बनाई महिलाको सुरक्षा बढाउन अनुरोध गर्दै झापाको गौरीगञ्ज, खजुरगाछी, शिवसताक्षी, ज्यामिरगढी र घेराबारीमा महिलाहरुले स्टिकर अभियान र घरदैलो गरेका छन् ।

वडा कार्यालयबाट सुरु भएको महिलाहरुको -यालीले गौरीगञ्जका विभिन्न टोलमा पुगेर महिलाको सुरक्षा र आत्मसम्मानका लागि घरमा चर्पी बनाउन अनुरोध गरेका थिए ।

 

“महिलाको सवालमा महिलाको सक्रियता र नेतृत्वले सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन सघाएको छ”, कार्यक्रमपछि गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले भन्नुभयो ।

 

शिवसताक्षी नगरपालिकाका विभिन्न वडामा सरसफाइ प्रवद्र्धन स्टिकर अभियान सञ्चालन गरिएको छ । सरसफाइ अभियानकर्ताहरु र जनप्रतिनिधिहरुले चर्पी नबनाएका घरमा पुगी महिलाको सुरक्षाका लागि चर्पी बनाउन अनुरोध गर्दै स्टिकर टाँस गरेका थिए ।

 

“चर्पी पनि नभएको घरमा कसरी महिला अधिकारको कुरा गर्नु ?”, शिवसताक्षी नगरपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य लीला आचार्य नेपालले भन्नुभयो, “त्यसैले चर्पी नहुने घरमा स्टिकर अभियान चलाइएको हो ।”

 

स्टिकर अभियानको सहजीकरण ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका साझेदार संस्थाहरुले गरिरहेका छन्।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार