
लहान, सिरहा: खुला दिसामुक्त (ओडीएफ) नेपाल घोषणा भएको करिब आठ वर्ष बितिसक्दा पनि लहान नगरपालिकामा आधारभूत सरसफाइको अवस्था अझै पूर्ण रूपमा सुधार हुन सकेको छैन। पछिल्लो तथ्यांक अनुसार नगर क्षेत्रमा ४ हजार २ सयभन्दा बढी परिवार अझै शौचालयबिहीन अवस्थामा रहेका छन्।
नगरको विकाससँगै सरसफाइ सुधारका विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि विपन्न तथा जोखिममा रहेका समुदायमा समस्या अझै गहिरो रूपमा कायम छ। विशेषगरी दलित, मुसहर, भूमिहीन तथा आर्थिक रूपमा कमजोर परिवारहरू यस अवस्थाबाट बढी प्रभावित छन्।
लहान नगरपालिका २०७५ सालमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो। त्यस समयमा सबै घरधुरीमा शौचालय पहुँच सुनिश्चित भएको दाबी गरिएको भए पनि पछिल्ला तथ्यांक अद्यावधिकपछि वास्तविक अवस्था फरक देखिएको हो। जनसंख्या वृद्धि, नयाँ बस्ती विस्तार, आर्थिक अभाव र पूर्वाधारको कमीका कारण हजारौँ परिवार अझै आधारभूत सरसफाइ सुविधाबाट वञ्चित छन्।

यस समस्यालाई सम्बोधन गर्न लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’लाई निरन्तर रूपमा अघि बढाइरहेको छ। नगरका २४ वटै वडामा सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छ । लहान नगरपालिका सक्रियतामा WASH Unit गठन गरिएको छ भने करिब ३०० जना युवा स्वयंसेवक परिचालन गरी समुदायस्तरमा जनचेतना विस्तार भइरहेको छ।
यति खेर “लहानका हरेक चोक र गल्लीमा शौचालय हाम्रो सबहक शान अछि” भन्ने सन्देश सहितका होर्डिङ बोर्ड, वाल पेन्टिङ तथा टुकटुक सवारी मार्फत सरसफाइको सन्देश प्रवाह गरिएको छ। स्थानीय रेडियो मार्फत जनहीतमा जारी सन्देशहरु नियमित रूपमा प्रसारण भइरहेको छ भने सामाजिक सञ्जालमार्फत पनि अभियानका गतिविधि र जनचेतनामूलक सामग्रीहरू सार्वजनिक भइरहेका छन्।

सडक नाटक, स्वच्छता गीत–संगीत तथा छोटा भिडियो मार्फत पनि सरसफाइप्रति व्यवहार परिवर्तन गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ। नगर प्रमुख महेश प्रसाद चौधरीका अनुसार शौचालय निर्माणमा मुख्य चुनौती आर्थिक अवस्था कमजोर हुनु, भूमिहीनता र खानेपानीको अभाव हो। कतिपय बस्तीमा शौचालय बनाउन आवश्यक जग्गा नै नभएकाले समस्या झनै जटिल बनेको उहाँले बताउनु भएको छ।

नगरपालिकाले सरसफाइ सुधारलाई प्राथमिकतामा राख्दै शौचालय निर्माणमा सहयोग, सामुदायिक शौचालय विस्तार तथा जनचेतना कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। साथै मानव मलमूत्र व्यवस्थापनका लागि फिकल स्लज ट्रिटमेन्ट प्लान्ट (FSTP) निर्माण गर्ने तयारी पनि अघि बढाइएको छ।
नगरपालिकाले १९ औँ नगरसभाबाट करिब १ अर्ब ३८ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। सोही बजेट अन्तर्गत सरसफाइ क्षेत्रका लागि करिब १ करोड रुपैयाँ विनियोजन गरिएको छ। स्थानीय सरोकारवालाहरूका अनुसार केवल अभियान मात्र पर्याप्त नभई सुरक्षित खानेपानी, नियमित अनुगमन र दीर्घकालीन पूर्वाधार विकास आवश्यक रहेको छ।

संघीय सरकारबाट लहान केन्द्रित विशेष कार्यक्रम अपेक्षित रूपमा नआएको सरोकारवालाहरूको गुनासो छ। सरसफाइ जस्तो संवेदनशील विषयमा समन्वित र दीर्घकालीन नीति आवश्यक रहेको उनीहरूको धारणा छ। लहानमा सरसफाइ अभियान निरन्तर अघि बढिरहेको भए पनि हजारौँ परिवार अझै आधारभूत सुविधाबाट टाढा छन्। यसले नगरको पूर्ण सरसफाइ लक्ष्य हासिल गर्न अझै लामो यात्रा बाँकी रहेको देखाउँछ।
संघीय समन्वयको आवश्यकता
स्थानीय तहको प्रयासका बाबजुद संघीय सरकारबाट लहान केन्द्रित विशेष कार्यक्रम पर्याप्त रूपमा नआएको सरोकारवालाहरूको गुनासो छ। सरसफाइ जस्तो संवेदनशील विषयमा दीर्घकालीन नीति र समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ।
लहानमा सरसफाइ अभियान निरन्तर अघि बढिरहेको छ। चेतना फैलाउने कामदेखि संरचनागत योजनासम्मका प्रयास भइरहेका छन् तर अर्कोतर्फ हजारौँ परिवार अझै आधारभूत सरसफाइ सुविधाबाट टाढा नै छन्।

लहान नगरपालिका एक्लैको प्रयासबाट पूर्ण रूपमा खुला दिसामुक्त (ओडीएफ) लहान बनाउनु फलामको चिउरा चपाउनु सरह चुनौतीपूर्ण बनेको देखिन्छ। तथापि नगर प्रमुख महेश प्रसाद चौधरीले आफ्नो कार्यकालभित्र लहानलाई पूर्ण रूपमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने दृढ संकल्प व्यक्त गर्नु भएको छ।


234 पटक हेरिएको 

