
मनाङ : मनाङ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य आइस लेक जाने पदमार्गमा पर्यटकको सुविधाका लागि दुईकोठे शौचालय निर्माण गरिएको छ । भ्राका गाउँबाट आइस लेकतर्फ जाने पदमार्गको मिछेया क्षेत्रमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तीन लाख २५ हजार रुपियाँ आर्थिक सहयोगमा शौचालय निर्माण गरिएको हो ।
मिछेया क्षेत्रमा चियापसल सञ्चालनमा रहेकाले आन्तरिक तथा विदेशी पर्यटकको उल्लेख्य आवागमन हुने गर्दछ । यसअघि शौचालयको अभावका कारण पदयात्रामा जाने पर्यटकले सरसफाइसम्बन्धी असुविधा भोग्दै आएका थिए ।
शौचालय निर्माण भएसँगै पर्यटकलाई आधारभूत सरसफाइ सेवा उपलब्ध हुनुका साथै पदमार्गलाई स्वच्छ र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
आइस लेक मनाङको आकर्षक हिमाली पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । यहाँ प्रत्येक वर्ष स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै आवश्यक पूर्वाधार विस्तार गरिँदै आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
स्थानीयवासीले शौचालय निर्माणसँगै पर्यटकलाई सहजता हुने, वातावरणीय सरसफाइ कायम राख्न मद्दत पुग्ने तथा स्थानीय पर्यटन व्यवसायसमेत लाभान्वित हुने अपेक्षा गरेका छन् ।पर्यटकमैत्री पूर्वाधारको विस्तारले आइस लेक क्षेत्रको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।


97 पटक हेरिएको 

