
सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित आदर्श टोल विकास संस्थालाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको छ। सफा र स्वच्छ क्षेत्र घोषणाका लागि आवश्यक सबै मापदण्ड पूरा भएपछि बराहक्षेत्र नगरपालिका वडा नं. ६ को कार्यालयले आयोजना गरेको घोषणा सभामा नगरपालिका प्रमुख रमेश कार्कीले टोललाई औपचारिक रूपमा सफा र स्वच्छ क्षेत्र घोषणा गर्नु भएको हो।

स्वच्छ र सफा क्षेत्र घोषणा कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गर्दै स्थानीयवासीलाई सरसफाइलाई जीवनशैलीका रूपमा अपनाउन र यस अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो। उहाँले घोषणा मात्र नभई समुदायको सक्रिय सहभागिता मार्फत वातावरणीय स्वच्छता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो।

स्थानीय तहको पहलमा सञ्चालन गरिएको यस्तो अभियानले समुदायमा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ, सुरक्षित र स्वच्छ बस्ती निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
बराह क्षेत्र नगरपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता प्रबद्र्धनका लागि वास सहजकर्ताहरु परिचालन गरी बस्ती बस्ती सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, सरसफाइ व्यवहार परिवर्तनका लागि विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको वास फोकल पर्सन मोतीलाल चौधरीले बताउनुभयो। कार्यक्रममा फोहोर व्यवस्थापन गर्नका लागि डस्टबिनहरु समेत वितरण गरिएको थियो।

कार्यक्रममा सहभागी स्थानीयवासीले टोललाई सधैं सफा, व्यवस्थित र वातावरणमैत्री राख्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

वडा नं. ६ का वडा अध्यक्ष उद्बव प्रसाद पोखरेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारी, समाजसेवी, सरसफाइ समितिका पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



फोटोहरु : मोतीलाल चौधरी/ बराहक्षेत्र नगरपालिका


160 पटक हेरिएको 

