
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका –३ मा खडेरीका कारण अधिकांश चापाकल सुकेपछि खानेपानीको समस्या उत्पन्न भएको छ ।
वडाका मदवा, खरेन्द्रपुर, सोनवर्सी, शान्तिपुर, हर्ष बाहिनी टोल, स्वर्गद्वारी टोल तथा मदवा डाँडा टोल क्षेत्रमा भूमिगत पानीको सतह घटेपछि स्थानीयवासीले खानेपानीको अभाव झेल्नुपरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।
खानेपानीको समस्याबाट प्रभावित वडावासीलाई राहत प्रदान गर्न वडा अध्यक्ष सापकोटाले ट्याङ्करमार्फत घर–घरमा पानी वितरण अभियान सुरु गर्नुभएको छ । हाल दैनिक पाँचदेखि ६ वटा ट्याङ्कर मार्फत पानी वितरण भइरहेको उहाँले जानकारी दिनुभयो । वडाले प्रत्येक घरपरिवारलाई हाल १०० लिटरका दरले खानेपानी उपलब्ध गराउँदैआएको छ ।
वडा कार्यालयले खानेपानीको अभाव कायम रहेसम्म आवश्यकताअनुसार पानी वितरण कार्यलाई निरन्तरता दिने जनाएको छ । लामो समयदेखि परेको सुख्खाका कारण जनजीवन प्रभावित बनेको अवस्थामा घर–घरमै पानी उपलब्ध हुन थालेपछि राहत महसुस भएको स्थानीय नवराज पौडेलले बताउनुभयो ।गोरखापत्रबाट साभार।


239 पटक हेरिएको 

