गोविन्द महतो, जनकपुरधाम
केही वर्ष पहिले सडकको दुवै छेउमा साँझ बिहान हिड्दा चिप्लेरै लडिन्थ्यो भने हिड्दा नाक मुख थुनेर हिड्नुपर्ने बाध्यता थियो । कारण एउटै थियो, खुल्ला ठाउँमा गरिने दिसापिसाब !
पछिल्लो समय धनुषा लगायत नेपालभरि नै चर्पी बनाउने अभियान चलेसँगै पहिले जस्तो बाटोघाटोमा फोहोर गर्ने प्रवृत्ति त केही घटेको छ तर पुरै सुधार हुन भने सकेको छैन । अहिले पनि सडक छेउछाउ तथा बाटोमै दिसापिसाब गर्ने कतिपय मानिसहरु भेटिन्छन् ।

बाटोमा दिसा गरेको अवस्थामा पक्राउ परेपछि आइन्दा बाटोमा दिसा नगर्ने कागज गराउँदै प्रहरी र बाटोमा दिसा गर्नेहरु । फोटो : सुजित मण्डलको फेसबुकबाट
तर अब बाटोमा दिसा गर्नेहरु विरुद्ध नगरपालिका आक्रमक बन्न थालेको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बाट हालै पाँच जनालाई पक्राउ गरी जरिवाना तिराएर छाडेका छन् । साविकको बालाबाखर गाविसलाई खुल्ला दिसामुक्त अभियानमा लागेको समाज विकास पथ (सुयुक) को सहयोगमा बाटोमा दिसा गर्ने केही व्यक्तिहरुलाई पक्राय गरी छाडिएको खरिहानी प्रहरी चौकीका प्रहरी नायब निरीषक तेजीलाल यादवले बताउनुभयो ।
बाटोमा दिसा गर्नेहरुलाई स्थानीय प्रशासनले नियमानुसार दण्ड जरीवाना गर्न थालेको हो । शहिदनगर नगरपालिकाका वडा अध्यक्ष सहित एमवाससीसीले अहिले यस्तै अभियानलाई तीब्रता दिन थालेका छन् ।
‘घरमा चर्पी बनाउनेलाई सरसफाई परिचयपत्र दिने र बाटोमा दिसापिसाब गर्नेबाट जरिबाना उठाउने काम भैरहेको छ’ बालाबाखरका सरसफाइ अभियन्ता महादेव प्रसाद पटेलले भन्नुभयो । बाटोमा दिसा गर्नेलाई ‘बाटो हगुवा’ भनेर ५ सय रुपैयाँ जरिबाना उठाउने गरिएको छ । पक्राउ परेका पाँचै जनालाई समेत ५०० जरिवाना लिएर छोडिएको प्रहरीले जनाएको छ ।
सुरुमा चेतावनी दिने र फेरि पनि अटेर गरेको पाइए जरिवाना लिने गरिएको खरिहानी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक यादवले बताउनुभयो । साविकको बालाबाखर गाविसलाई फागुन ३० गते खुला दिसामुक्त गाउँ घोषणा गरिने योजना रहेको समाज विकास पथका सरसफाइ अफिसर सुजित मण्डलले जानकारी दिनुभयो ।
धनुषाका साविकको १०१ वटा गाविस मध्ये ५० वटा गाविसलाई खुला दिसामुक्त घोषणा गरि सकिएको छ भने ८ वटा गाविस यसै महिना भित्र खुला दिसामुक्त घोषणा हुने चरणमा छ ।


873 पटक हेरिएको 

