
चितवन : गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष आरके शर्माले चितवनस्थित भूमि प्रशासन कार्यालय (मालपोत) परिसरमा पुनर्निर्माण गरिएको आधुनिक सार्वजनिक शौचालय तथा तातो–चिसो पानी आउने डिस्पेन्सर कार्यालयलाई हस्तान्तरण गर्नुभएको छ।
बुधबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा आयोजित कार्यक्रममा ती संरचनाहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
लामो समयदेखि मालपोत कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले सार्वजनिक शौचालय र स्वच्छ खानेपानीको अभावका कारण सास्ती भोग्दै आएका थिए। सोही समस्यालाई मध्यनजर गर्दै शर्माले व्यक्तिगत पहलमा १० लाख रुपैयाँभन्दा बढीको लागतमा आधुनिक सार्वजनिक शौचालय पुनर्निर्माण गराउनुका साथै तातो तथा चिसो पानी उपलब्ध हुने डिस्पेन्सरसमेत जडान गरिदिनुभएको हो।
हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सेवाग्राहीको आवश्यकता बुझेर गरिएको सहयोगको प्रशंसा गर्नुभयो। कार्यालयमा खानेपानी र शौचालयको उचित व्यवस्थापन नहुँदा सेवाग्राहीले लामो समयदेखि सास्ती भोगिरहेको महसुस भएपछि गरिएको आग्रहलाई स्वीकार गर्दै शर्माले आवश्यक पूर्वाधार निर्माण गरिदिनुभएको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो।
पूर्वअध्यक्ष आरके शर्माले चितवन आफ्नो गृह जिल्ला भएकाले यहाँको सामाजिक विकास र जनसेवामूलक कार्यमा सधैँ योगदान पुर्याउन तत्पर रहेको बताउनुभयो। आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
हस्तान्तरण कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सम्बन्धित कार्यालयका कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


111 पटक हेरिएको 

