कोशी प्रदेशका सबै १३७ पालिकामै WASH Plan बनाउने लक्ष्य, PWASHCC बैठक सम्पन्न

  केदार खतिवडा  224 पटक हेरिएको
🔗
24
Shares

विराटनगर : कोशी प्रदेशस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (Provincial Water, Sanitation and Hygiene Coordination Committee–PWASHCC) को बैठक प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तथा समितिका अध्यक्ष तिलचन पाठकको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले प्रदेशका सबै १३७ स्थानीय तहमा WASH Plan निर्माण सम्पन्न गर्ने लक्ष्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।

बैठकको प्रारम्भमा सहभागीहरू बीच लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र जलवायु उत्थानशील (Climate Resilient) WASH सम्बन्धी साझा बुझाइ विकास गर्ने उद्देश्यले अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो।

SNV नेपालका GEDSI तथा Climate Resilience WASH Advisor रतन बुढाथोकीले सहजीकरण गर्नुभएको उक्त सत्रमा BCC Advisor हेमन पनेरुले Power Walk Game मार्फत GEDSI तथा जलवायु उत्थानशील WASH का अवधारणालाई व्यवहारिक रूपमा प्रस्तुत गर्नुभएको थियो।

बैठकमा अघिल्लो बैठकका निर्णयहरूको समीक्षा गर्दै SNV नेपालका अनुगमन तथा मूल्याङ्कन (M&E) Advisor राजीव बन्जाराले कोशी प्रदेशमा WASH Plan निर्माणको हालसम्मको प्रगति प्रस्तुत गर्नुभयो। उहाँका अनुसार गत आर्थिक वर्षसम्म ७१ स्थानीय तहमा WASH Plan निर्माणका लागि आवश्यक आधारभूत तथ्याङ्क व्यवस्थापन सम्पन्न भइसकेको छ। चालु आर्थिक वर्षभित्र थप ६६ स्थानीय तहमा तथ्याङ्क व्यवस्थापन गरी WASH Plan तयार गर्ने योजना रहेको र यससँगै प्रदेशका सबै १३७ स्थानीय तहमा WASH Plan निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिइयो।

बैठकमा NWASH MIS Application सम्बन्धी तालिम सञ्चालनका लागि प्रशिक्षक सहजीकरण पुस्तिका (Training Facilitation Manual) प्रकाशन गर्ने, PWASHCC सदस्यहरूको क्षमता अभिवृद्धिका लागि WASH Plan निर्माण प्रक्रिया तथा Provincial NWASH Dashboard सम्बन्धी अभिमुखीकरण सञ्चालन गर्ने तथा GEDSI र जलवायु उत्थानशील WASH सम्बन्धी कार्यक्रम स्थानीय तहसम्म विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको थियो।

छलफलका क्रममा खानेपानी महाशाखा प्रमुख कृष्णप्रसाद राजवंशीले SNV नेपालको प्राविधिक सहयोग तथा प्रदेश स्रोत व्यक्तिहरू (Provincial Resource Persons) को सक्रिय सहकार्यका कारण कोशी प्रदेशमा WASH Plan निर्माण प्रभावकारी रूपमा अघि बढिरहेको बताउनुभयो। उहाँले गुणस्तरीय WASH Plan निर्माणका लागि सबै सरोकारवाला निकायबीच सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

मन्त्रालयका सचिव पुष्पकर प्रसाद पोखरेलले PWASHCC लाई आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी बनाउँदै प्रदेश सरकार, स्थानीय सरकार, विकास साझेदार संस्था तथा खानेपानी तथा ढल व्यवस्थापन विभाग बीचको समन्वयलाई थप सुदृढ गरी सबै १३७ स्थानीय तहमा WASH Plan निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

बैठकका अध्यक्ष तथा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकले NWASH MIS मा उपलब्ध तथ्याङ्कका आधारमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा रहेका सेवा अन्तर (Gap) को स्पष्ट पहिचान गरी संघ, प्रदेश र स्थानीय सरकार बीच प्रभावकारी समन्वय तथा लगानी मार्फत ती अन्तरहरू क्रमशः सम्बोधन गर्नुपर्ने बताउनुभयो। उहाँले दिगो विकास लक्ष्य (SDG–६) अनुरूप सबै नागरिकलाई सुरक्षित तथा दिगो खानेपानी, सरसफाइ र स्वच्छता सेवामा पहुँच सुनिश्चित गर्न तथ्यमा आधारित योजना निर्माण र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

मन्त्री पाठकले PWASHCC लाई अझ सक्रिय, प्रभावकारी तथा परिणाममुखी बनाउन सबै सदस्य तथा सरोकारवालाहरूलाई आग्रह गर्दै कोशी प्रदेशमा WASH Plan निर्माण कार्यमा निरन्तर प्राविधिक सहयोग पुर्‍याउँदै आएको SNV नेपाल तथा प्रदेश स्रोत व्यक्तिहरूको योगदानको प्रशंसा गर्नुभयो।

बैठकको सहजीकरण खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका शाखा अधिकृत किशोर थापा तथा SNV नेपालका WASH Advisor रामप्रसाद सिंहले संयुक्त रूपमा गर्नुभएको थियो। बैठकले सुरक्षित, समावेशी, जलवायु उत्थानशील तथा दिगो WASH सेवा सुनिश्चित गर्न WASH Plan निर्माण र कार्यान्वयनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता सहित आफ्ना निर्णयहरू अघि बढाउने निष्कर्ष निकालेको छ।

बैठकमा मन्त्रालयका सचिव पुष्पकर प्रसाद पोखरेल, खानेपानी महाशाखा प्रमुख कृष्णप्रसाद राजवंशी, कोशी प्रदेश योजना आयोगका सचिव विष्णु प्रसाद कोइराला, नेपाल नगरपालिका महासंघका अध्यक्ष दिलप्रसाद राई, प्रदेश सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, खानेपानी तथा ढल व्यवस्थापन विभाग, SNV नेपाल, CSDC, NFDN, AIPD, FECOFUN, नारी विकास लगायत विकास साझेदार संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार