कोरियामा रहेका नेपालीले दिएको शौचालय बन्द

धादिङ : कोरियामा रहेका नेपाली कामदारको सहयोगमा धादिङको धादिङबेशी वसपार्क नजिकै बनेको सार्वजनिक शौचालयमा ताला लगाइएको छ । सार्वजनिक शौचालय सरसफाइ र सञ्चालन गर्ने कर्मचारीलाई नगरपालिकाले तलव नदिएपछि बन्द गर्नुपरेको शौचालय सरसफाइ र पैसा उठाउने जिम्मेवारी पाएकी रत्नकुमारी कुमालले बताउनुभयो । शौचालयबाट उठाएको रकम नगरपालिकालाई बुझाउनुपर्ने तर तलब नपाइने भएपछि गत माघ १६ गतेदेखि शौचालय सञ्चालन नभएको कुमालले बताउनुभयो ।

 

रत्नकुमारीले मासिक ७ हजार पारिश्रमिक पाउने सहमतिमा नगरपालिकाको शौचालय सञ्चालन गर्ने जिम्मा लिनुभएको थियो । तर श्रावण महिनादेखि तलव नै नपाएको उहाँको गुनासो छ । ‘दिसा गरेको १० र पिसाव फेरेको ५ रुपैयाँ रकम उठाउँदै आएको थिएँ, दिनमै २/३ सय रुपैयाँ संकलन हुन्थयो, तर उठाएको रकम नगरपालिकालाई दिनुपर्ने, मलाई चाहिं नदिने भएपछि छोडिदिएको हुँ’ कुमालले भन्नुभयो । पानी तान्ने मोटर विग्रेर बनाउँदा आफ्नै पैसा लागेको र त्यसबापतको रकम समेत नगरपालिकाले नदिएको उहाँले बताउनुभयो ।

धदिङमा रहँदा सार्वजनिक शौचालय नहुँदा धेरै समस्या भएपछि दक्षिण कोरियामा रहेका धादिङका दाजुभाईले संकलन गरी पठाएको १६ लाख ४८ हजार ९ सय रुपैयाँले सार्वजनिक शौचालय निर्माण गरिएको थियो । ३ वटा कोठा रहेको शौचालयमा पुरुष, महिला र अपाङ्गता भएकाहरुका लागि सहज हुने तरिकाले कोरियन डिजाइनमा बनाइएको धादिङ समाज दक्षिण कोरियाका मनोज थापाले बताउनुभयो । शौचालय २०७३ असार २० गतेबाट सञ्चालनमा आएको हो ।

नीलकण्ठ नगरपालिकाले भने बन्द रहेको शौचालय सञ्चालनका लागि टेण्डर गर्ने तयारी गरेको छ । ‘हामी छिट्टै टेण्डर गरेर सार्वजनिक शौचालयको जिम्मेवारी प्रदान गर्छौ’ नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले बताउनुभयो ।

सार्वजनिक शौचालय बन्द हुँदा सेवाग्राही भने दिसापिसाब गर्नकै लागि होटल तथा पसलमा जानुपर्ने बाध्यता रहेको बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार