
बाँके : बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। बुधबार बिहान करिब ९ बजे स्थानीय दयाप्रसाद थारुको घर परिसरमा निर्माणाधीन सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको ज्यान गएको हो।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का करिब ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्। दुई साताअघि निर्माण गरिएको उक्त सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुर्घटना भएको हो। ट्याङ्की निर्माणको काम पनि उनीहरूले नै गरेका थिए। घर निर्माणको जिम्मेवारी लिएका उनीहरू बुधबार बिहान नियमित कामका लागि पुगेका थिए।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सेफ्टी ट्याङ्कीमा मानिस फसेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालको नेतृत्वमा १५ सदस्यीय टोली उद्धारका लागि परिचालन गरिएको थियो।
प्रहरी नायब उपरीक्षक डमरपालले सेफ्टी ट्याङ्कीभित्र फसेकाहरूको उद्धार गर्न कठिन भएपछि जेसीबी प्रयोग गरी ट्याङ्की फुटाउनुपरेको बताउनुभयो। उहाँले प्रारम्भिक अनुसन्धानका आधारमा अक्सिजनको अभावका कारण निस्सासिएर मृत्यु भएको हुन सक्ने उल्लेख गर्नुभयो। उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो।
कोहलपुर नगरपालिका–३ का वडाध्यक्ष माधव रिजालले वडामा अत्यन्तै दुःखद घटना भएको बताउनुभयो। उहाँका अनुसार तीनै जना मिस्त्रीका रूपमा कार्यरत थिए भने मृतक कालु थारुले घर निर्माणको जिम्मेवारी लिएको जानकारी दिनुभयो। अन्य दुई जना पनि उहाँसँगै ज्यालादारीमा काम गर्दै आएको उल्लेख गर्नुभयो।
वडाध्यक्ष रिजालले सुरुमा कालु थारु सेफ्टी ट्याङ्कीभित्र प्रवेश गर्नुभएको र बाहिर ननिस्किएपछि क्रमशः अन्य दुई जना उद्धारका लागि भित्र छिरेको बताउनुभयो। अक्सिजनको कमीका कारण उनीहरूको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक आशंका रहेको उल्लेख गर्नुभयो।
तीनै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।
घटनाको सत्यतथ्य छानबिनको माग
दुर्घटनापछि कोहलपुर नगरपालिकाले घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन माग गरेको छ।नगरपालिकाले यस घटनाबाट सबैले गम्भीर शिक्षा लिनुपर्ने भन्दै सेफ्टी ट्याङ्की, ढल तथा अन्य बन्द संरचनामा काम गर्दा आवश्यक सुरक्षा मापदण्ड, सुरक्षात्मक सामग्री र प्राविधिक सावधानीको पूर्ण पालना गर्न निर्माण व्यवसायी, सम्बन्धित संस्था तथा आम नागरिकलाई आग्रह गरेको छ।
कार्यवाहक नगर प्रमुख संगीता सुवेदीद्वारा जारी वक्तव्यमा घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग समन्वय गरिने उल्लेख गरिएको छ।
नगरपालिकाले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। `मानव जीवनभन्दा ठूलो कुनै पनि काम हुँदैन। आवश्यक सुरक्षा अपनाएर मात्र यस्ता जोखिमपूर्ण कार्य गरौँ, ताकि भविष्यमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नपाओस्´वक्तव्यमा उल्लेख छ।


123 पटक हेरिएको 

