
काठमाडौं : खानेपानी तथा सरसफाइ सेवा क्षेत्रमा कार्यरत श्रमिकहरूको व्यावसायिक सुरक्षा तथा स्वास्थ्य सुनिश्चित गर्ने उद्देश्यले तयार पारिएको ‘खानेपानी तथा सरसफाइ सेवा क्षेत्रका कामदारहरूका लागि व्यावसायिक सुरक्षा तथा स्वास्थ्य दिग्दर्शन’ को मस्यौदा माथि शुक्रबार सरोकारवाला बीच छलफल तथा अन्तरक्रिया गरिएको छ।
पूर्वाधार विकास मन्त्रालयले तयार गरिरहेको उक्त दिग्दर्शनको प्रारम्भिक मस्यौदा माथि विभिन्न सरकारी निकाय, विकास साझेदार, सेवा प्रदायक संस्था, सरसफाइकर्मी तथा विषय विज्ञहरूबाट सुझाव संकलन गर्न अन्तरक्रिया आयोजना गरिएको हो।

मन्त्रालयका अनुसार दिग्दर्शनको मुख्य उद्देश्य खानेपानी तथा सरसफाइ क्षेत्रमा सुरक्षित र स्वस्थ कार्य वातावरण सुनिश्चित गर्दै श्रमिकको अधिकार संरक्षण गर्नु हो। यसका साथै क्षेत्रमा कार्यरत श्रमिकहरूको वर्गीकरण गरी उनीहरूले सामना गर्ने व्यावसायिक जोखिम पहिचान गर्ने, कार्यस्थलमा रहेका जोखिम न्यूनीकरण गर्ने, उच्च जोखिमयुक्त कार्यका लागि आवश्यक मापदण्ड निर्धारण गर्ने तथा सेवा प्रदायक, रोजगारदाता, सुपरभाइजर र श्रमिकको काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा परिभाषित गर्ने उद्देश्य राखिएको छ।

दिग्दर्शनमा ६ परिच्छेद, २४ बुँदा र ४ वटा अनुसूची समेटिएका छन्। परिच्छेद १ मा प्रारम्भिक, परिच्छेद २ मा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यवस्थापन परिच्छेद ४ मा रोजगारदाता तथा श्रमिकका दायित्वहरु, परिच्छेद ५ मा अनुगमन, निरीक्षण र अनुपालना र परिच्छेद ६ मा विविध उल्लेख गरिएको छ ।
श्रमिकको सुरक्षासँग सम्बन्धित विशेषगरी कार्यस्थलमा हुने दुर्घटना तथा व्यावसायिक रोगको प्रतिवेदन, अनुसन्धान र अभिलेखीकरणलाई व्यवस्थित बनाउने प्रावधान समावेश गरिएको छ।

मस्यौदा अनुसार कुनै श्रमिकको मृत्यु, गम्भीर चोटपटक, अस्पताल भर्ना, व्यावसायिक रोग वा खतरनाक घटना भएमा रोजगारदाताले २४ घण्टाभित्र स्थानीय प्रहरी, नजिकको श्रम कार्यालय, सम्बन्धित स्थानीय तह तथा अनुमति दिने निकायलाई जानकारी गराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यस्तै, प्रतिवेदन गर्नुपर्ने प्रत्येक घटनाको अनुसन्धान श्रमिक प्रतिनिधिको सहभागितामा मान्यता प्राप्त विधि प्रयोग गरी गर्नुपर्ने, सुधारात्मक तथा रोकथामका उपाय कार्यान्वयन नभएसम्म अनुगमन गर्नुपर्ने र त्यसबारे श्रमिकलाई जानकारी गराई सुरक्षा अभिमुखीकरण तथा तालिममा समावेश गर्नुपर्ने व्यवस्था पनि मस्यौदामा उल्लेख छ।

यसैगरी सामान्य चोटपटक तथा दुर्घटना हुनबाट जोगिएका घटना समेत कार्यस्थलको घटना दर्ता पुस्तिकामा अभिलेख राखी मासिक रूपमा सम्बन्धित पालिकामा प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।

अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले दिग्दर्शनलाई व्यवहारमै लागू गर्न सकिने, स्पष्ट र प्रभावकारी बनाउँदै खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न थप सुधार आवश्यक रहेको सुझाव दिएका थिए।
पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर योगेन्द्र चित्रकारले जेरो ड्राफ्ट माथिको छलफल पछि अब कामदार संगठन, पालिका तथा सेवा प्रदायकहरुबाट लिखित राय सुझाव संकलन गरिनेछ । त्यसपछि अन्तर मन्त्रालयहरुसँग राय सुझाव माग्ने, राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र खानेपानी तथा ढल व्यवस्थापन विभागले समीक्षा तथा अन्तिम रुप दिने र अन्त्यमा नेपाल राजपत्रमा प्रकाशन भएपछि लागु हुने बताउनुभयो ।








Photo: P.T. Lopchan/WASH Khabar


389 पटक हेरिएको 

