
सुर्खेत : दिसाजन्य फोहोर व्यवस्थापन (FSM) क्षेत्रमा कार्यरत वा यस क्षेत्रमा व्यवसाय सञ्चालन गर्न इच्छुक उद्यमी, व्यवसायी, व्यापारी, सेवा तथा सामग्री आपूर्तिकर्ता, सामाजिक उद्यम तथा नवप्रवर्तनमा आधारित निजी क्षेत्रका संस्थाहरूका लागि कर्णालीमा व्यवसाय विकासको अवसर खुलेको छ ।
सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) परियोजनाले सामाजिक व्यवसाय विकास तथा दिसाजन्य फोहोर व्यवस्थापन (FSM) उद्यमशीलता सहयोग कार्यक्रम अन्तर्गत खानेपानी, सरसफाइ तथा स्वच्छता र दिसाजन्य फोहोर व्यवस्थापनका क्षेत्रमा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आवश्यक सेवा तथा सामग्रीको व्यवसायिक विकासलाई सहयोग गर्ने उद्देश्यले उद्यमशीलता सहयोग गर्न लागेको हो।
सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) इच्छुक उद्यमी तथा व्यवसायीबाट पुनः आवेदन आह्वान गरेको हो । परियोजनाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । यस अघि पहिलो चरणमा आवेदन आह्वान गरिएको थियो । तर, उच्च सम्भावना भएका केही उद्यम तथा व्यवसायहरू आवेदन प्रक्रियाबाट छुट्न सक्ने भएकाले दोस्रो पटक आवेदन आह्वान गरिएको सुस्वाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्द राज रोकायाले जानकारी दिनुभयो।
SUSWA परियोजना अन्तर्गत सुर्खेत, जुम्ला, जाजरकोट, सल्यान, रुकुम पश्चिम तथा दैलेख जिल्लाका परियोजनाले तोकेका स्थानीय तहमा कार्यक्रम सञ्चालन हुँदैछ । यस पटक देखि जुम्ला जिल्लाका परियोजना अन्तर्गत तोकिएका स्थानीय तहमा समेत कार्यक्रम सञ्चालन हुने भएकाले त्यहाँका इच्छुक व्यवसायी तथा उद्यमीले पनि आवेदन दिन सक्ने स्वच्छता विज्ञ रोकायाले जानकारी दिनुभयो।
रोकायाका अनुसार कार्यक्रममा WASH तथा FSM क्षेत्रमा कार्यरत वा यस क्षेत्रमा नयाँ व्यवसाय सञ्चालन गर्न इच्छुक उद्यमी, व्यवसायी, व्यापारी, सेवा तथा सामग्री आपूर्तिकर्ता, सामाजिक उद्यम तथा नवप्रवर्तनमा आधारित निजी क्षेत्रका संस्थाहरूले आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले निर्धारित ढाँचामा आवेदन पेश गर्नुपर्नेछ । आवेदन फाराम तथा सम्बन्धित जानकारी परियोजनाका साथै सम्बन्धित स्थानीय तहको WASH इकाइबाट समेत प्राप्त गर्न सकिनेछ ।
पहिलो सूचना अनुसार आवेदन पेश गरिसकेका आवेदकहरूले भने पुनः आवेदन पेश गर्न नपर्ने परियोजनाले जनाएको छ ।
नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपियन युनियनको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) आयोजनाले कर्णालीका २८ वटा पालिकाहरुमा विगत ५ बर्षदेखि खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको विभिन्न आयामहरुमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।


151 पटक हेरिएको 

