ज्वालामुखीमा पूर्ण सरसफाइ उन्मुख गाउँपालिका र खानेपानी बोर्डको सेवा प्रवाहबारे समीक्षा

  वास खबर सम्बाददाता  159 पटक हेरिएको
🔗
47
Shares

धादिङ : ज्वालामुखी गाउँपालिकामा पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा तथा ज्वालामुखी खानेपानी तथा सरसफाइ बोर्डबाट प्रवाह भइरहेको सेवाको समीक्षा गर्दै दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

गाउँपालिकाद्वारा आयोजित कार्यशालामा खानेपानी बोर्डले हाल उपलब्ध गराउँदै आएको सेवा, सेवा प्रवाहमा देखिएका समस्या तथा सुधार गर्नुपर्ने पक्षका साथै चालु आर्थिक वर्षमा ल्याइएका नवीन कार्यक्रम बारे छलफल गरिएको ज्वालामुखी ग्रामीण खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका प्रबन्धक सबिना रेग्मीले जानकारी दिनुभयो।

कार्यशालामा गाउँपालिकाभित्र सञ्चालित सबै खानेपानी आयोजनालाई खानेपानी बोर्डमा आबद्ध गराउने विषयमा समेत छलफल भएको छ। बोर्डमा आबद्ध भएका लिफ्ट प्रणाली र डिप बोरिङ खानेपानी आयोजनाका उपभोक्ताले तिर्नुपर्ने खानेपानी महसुलमा विशेष छुट तथा ग्राभिटी प्रणालीका आयोजनामा समेत छुटको व्यवस्था गरिएको जानकारी दिइएको छ।

त्यस्तै, खानेपानी सेवाको प्रभावकारिता बढाउने तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमका लागि भावी योजना र प्राथमिकता निर्धारण गरिएको छ।

ज्वालामुखी गाउँपालिकाले वि.सं. २०८२ चैत २९ गते नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिकाका रूपमा घोषणा भएपछि त्यसको निरन्तरतासँगै पूर्ण सरसफाइको दोस्रो चरणका लागि रणनीतिक योजना निर्माणको प्रक्रिया अघि बढाएको हो। कार्यशालाले पूर्ण सरसफाइ उन्मुख गाउँपालिकाको दोस्रो चरणका लागि लक्ष्य तथा रणनीति तय गरेको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष यामनाथ दनैको अध्यक्षतामा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष तथा जनप्रतिनिधि, खानेपानी तथा ढल व्यवस्थापन विभागका डा. रजित ओझा, खानेपानी बोर्डका कार्यसमिति सदस्य, विभिन्न शाखाका प्रमुख, स्वास्थ्य संस्थाका प्रमुख, वडा तहका विद्यालय वास समितिका संयोजक तथा टोल विकास संस्थाका संयोजकहरूको सहभागिता रहेको थियो।

त्यसैगरी फोकस नेपाल, शान्ति नेपाल, सिटिएस नेपाल, वाइन टु वाटरलगायत विकास साझेदार संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो। गाउँपालिका, खानेपानी तथा सरसफाइ बोर्ड, फोकस नेपाल, शान्ति नेपाल र सिटिएस नेपालको सहयोग तथा समन्वयमा कार्यशाला सञ्चालन गरिएको हो।

कार्यशालामा हालसम्म बोर्ड मार्फत प्रवाह भइरहेको खानेपानी सेवाको समीक्षा गर्दै सेवा विस्तार, गुणस्तर सुधार र प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक कदमबारे विस्तृत छलफल गरिएको बोर्ड प्रबन्धक रेग्मीले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार