काठमाडौं उपत्यकाको ढल प्रशोधन परियोजना बारे PID र ADB को टिम बीच छलफल

PID द्वारा आधुनिक किसिमको ढल प्रशोधन केन्द्र बनाउन प्रस्ताव

  WASH Khabar Correspondent  394 पटक हेरिएको
🔗
279
Shares

काठमाडौं : काठमाडौँ उपत्यकाको ढल प्रशोधन (Sewage treatment system) लाई थप व्यवस्थित र प्रभावकारी बनाउन ‘काठमाडौँ उपत्यका ढल व्यवस्थापन आयोजना-दोस्रो’ अघि बढाइएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (PID) मार्फत सञ्चालन गर्न लागिएको यस परियोजनाको कुल लागत अनुमान २६ करोड ५० लाख अमेरिकी डलर (नेपाली रकम करिब रु. ४० अर्ब रुपैंया) प्रस्ताव गरिएको छ। सो ससम्बन्धमा आज PID र ADB को reconnaissance mission team संग छलफल भएको छ ।

आयोजनाको योजनाअनुसार विभिन्न पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि बजेट बाँडफाँड गरिएको छ:

• ढल प्रणाली विस्तार तथा पुनर्स्थापना (Sewer Network Expansion & Rehabilitation):
उपत्यकाका विभिन्न भागमा गरी कुल ५५.७ किलोमिटर ढल सञ्जाल विस्तार तथा सुधार गरिनेछ। यसअन्तर्गत गोदावरी, मनोहरा (४ किमी), हनुमानते, काठमाडौँ कोर क्षेत्र (१७ किमी) र पुतलीसडक (५ किमी) लगायतका क्षेत्रमा ढल पाइपलाइन तथा इन्टरसेप्टर निर्माण गरिनेछ।

दैनिक करिब १८ करोड लिटर ढल प्रशोधन गर्ने क्षमता भएका थप ढल प्रशोधन केन्द्रहरूको निर्माण र पुराना प्रशोधन केन्द्रहरूको स्तरोन्नति गरिनेछ। उपत्यकाका धोबीघाट, कोड्कु (बालकुमारी), सल्घारी, गोकर्ण तथा चोभार/चालनाखेल क्षेत्रमा प्रशोधन केन्द्रहरू सञ्चालन तथा थप निर्माण गर्ने योजना बनाइएको छ।धोबीघाटमा हाल रहेको/प्रस्तावित क्षमतालाई बढाएर भविष्यमा चालनाखेल/खोकानातर्फको बहाव समेत व्यवस्थापन गर्ने गरी एकीकृत प्रणाली बनाइनेछ।बाग्मती र बिष्णुमती नदी किनाराहरुमा आधुनिक शैलीका भुमिगत ढल प्रशोधन केन्द्र बनाउने प्रस्ताव गरिएको छ ।

सन् २०१५ सम्म उपत्यकामा दैनिक १६ करोड लिटर ढल संकलन हुने गरेकोमा सन् २०३० सम्ममा यो प्रवाह बढेर दैनिक करिब ५० करोड लिटर सम्म पुग्ने प्रक्षेपण गरिएको छ। यसका साथै विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, टुकुचा, गोदावरी, बल्खु, महादेवखोला, सांला खोला, मनमति र नख्खु नदी किनारहरूमा मुख्य ढल प्रणाली निर्माण गरी नदीहरूमा सोझै ढल मिसिनबाट रोकिनेछ। ढल प्रशोधन केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्न शौचालयको ढल र बर्षातको पानीको लागि छुट्टाछुट्टै पाईप बिछ्याउनुपर्ने हुन्छ ।

यस आयोजना अन्तर्गत ढल सञ्जालको नक्सांकन, म्यानहोल व्यवस्थापन र ढल प्रवाह दिशा ट्रयाक गर्न ‘सिभर एसेट म्यानेजमेन्ट सिस्टम’ (Sewer Asset Management System – SAMS) प्रणालीलाई आधुनिक रूपमा अपडेट तथा विस्तार गरिनेछ।

यस आयोजनाको निर्माण र कार्यान्वयन पश्चात् काठमाडौँ उपत्यकाका प्रमुख नदी प्रणालीहरू सफा हुनुका साथै उपत्यकावासीको वातावरणीय स्वास्थ्यमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार