
बेनी : साउनको अन्तिम सोमबार प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयको दर्शन गर्न आएका सयौँ भक्तजन नाक थुन्दै बेनी–गलेश्वर सडकमा आवतजावत गर्दै थिए । गलेश्वरधाम नजिक रातोपहिरास्थित कालीगण्डकी नदी किनारमा थुपारिएको फोहोर सडक नजिक आइसकेका कारण तीर्थयात्री, भक्तजन र सर्वसाधारणले नाक थुनेर आवतजावत गर्नुपर्ने बाध्यता छ । यो समस्या अहिलेको मात्र नभई विगत २५ वर्षअघि देखिको हो ।
गलेश्वर शिवालयको दर्शन गर्न आएकी पर्वतको कुस्मा नगरपालिका–१० की रमा पौडेलले पवित्र कालीगण्डकी नदी र धार्मिक स्थलनजिक यसरी फोहोर फाल्नु उचित नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नदी किनारमा थुपारिएको फोहोरको दुर्गन्धका कारण नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ । पाँच वर्षअघि गलेश्वर दर्शन गर्न आउँदा पनि यस्तै थियो । अहिले पनि जस्ताको तस्तै रहेछ ।”
दुई दशकभन्दा अघि तत्कालीन अर्थुङ्गे गाविस हुँदादेखि नै अव्यवस्थित रूपमा पवित्र कालीगण्डकी नदी किनारमा फोहोर फाल्न थालिएको थियो । बर्सौंदेखिको समस्या बेनी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पनि समस्याको निकास निकालिएको छैन । नगरपालिकाले फोहोर फाल्ने व्यवस्थित ल्यान्डफिल साइटको खोजी गरे पनि अझै समस्याको समाधान हुन सकेको छैन । बेनी नगरपालिकाका जनप्रतिनिधिको दोस्रो कार्यकाल पनि सकिन थालेको छ ।
फोहोर व्यवस्थापनका लागि नगरपालिकाले उपयुक्त जग्गाको खोजी गरे पनि अझै फेला पार्न सकेको छैन । पवित्र कालीगण्डकी नदी किनारमा फोहोर फाल्दा पवित्र नदी, वरपरको वातावरण, स्थानीयवासी र धार्मिक स्थलमा असर परेको छ । फोहोर फाल्ने उपयुक्त जग्गा पहिचान र प्राप्तिमा सहमति जुट्न नसक्दा कालीगण्डकी नदी किनारको विकल्प तयार हुन नसकेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
बेनी नगरपालिकाले हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा फोहोर व्यवस्थापन केन्द्र निर्माणलाई प्राथमिकता दिँदै आएका छ तर उपयुक्त स्थानमा जग्गा पहिचान हुन नसक्दा योजना कार्यान्वयनमा आउन सकेको छैन ।
कालीगण्डकी नदीको किनार तथा बेनी–जोमसोम सडकसँगै रहेकाले त्यसबाट निस्कने दुर्गन्धले आसपासका बस्तीका बासिन्दा, यात्रु, पर्यटक तथा तीर्थयात्री प्रभावित भएकाले तत्काल यसको विकल्प खोज्नुपर्ने प्रभावित बासिन्दा बेनी नगरपालिका राहुगोडाका स्थानीयवासी जीवन आचार्यले बताउनुभयो ।
नगरपालिकालाई पटक पटक गुनासो गर्दा पनि अर्को वैकल्पिक व्यवस्था गर्न नसकेको उहाँको भनाइ छ । अब पनि विकल्प नखोजिए स्थानीय आन्दोलनमा उत्रिनुको विकल्प नभएको उहाँको भनाइ छ । उहाँका अनुसार नदी किनारमा खुला रूपमा फोहोर फालिँदा बगरफाँट, जलेश्वर, कालीपुल र गलेश्वर क्षेत्रका बासिन्दाले दुर्गन्धको समस्या भोगिरहेका छन् । बेनी नगरपालिकाले फोहोर व्यवस्थापनका लागि कम्प्याक्टर मेसिन र सवारीसाधनसहित पोखरास्थित मिसन फर वेस्ट म्यानेजमेन्टलाई मासिक एक लाख ६० हजार रुपियाँमा जिम्मेवारी दिएको छ ।
नगरप्रमुख केसीले फोहोर व्यवस्थापनका लागि नगरपालिकाले बजेट विनियोजन गरे पनि जग्गा व्यवस्थापन हुन नसक्दा योजना कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै स्थानमा जग्गाको खोजी पनि ग¥यौँ । कसैलाई असर नगर्ने स्थानमा समेत स्थानीयले पनि विरोध गरे । यो समस्या सुल्झाउन नगरवासीको पनि साथसहयोग आवश्यक छ । जनप्रतिनिधि आएपछि नदी किनारमा फोहोर फाल्न थालेको पनि होइन । यो समस्याको समाधानका लागि पहल गरे पनि सार्थकता पाउन सकिएको छैन ।”
उहाँका अनुसार पछिल्ला वर्षदेखि फोहोर छुट्याएर कुहिने वस्तु खाडलमा व्यवस्थापन गर्ने, पुनः प्रयोगयोग्य सामग्री छुट्याउने तथा कुहिने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने काम सुरु गरिएको छ । ल्यान्डफिल साइटको विकल्प पहिचान नभएसम्म दुर्गन्ध नियन्त्रणका लागि औषधी, चुना र माटो नियमित रूपमा प्रयोग गर्न स्थानीयले माग गरेका छन् । हाल फोहोर फाल्ने स्थानमा टहरा निर्माण गरी नकुहिने फोहोर छुट्याएर कबाडीमा बिक्री गर्ने गरिएको भए पनि फोहोर सडकसम्म नै थुप्रिएर दुर्गन्ध फैलिएको स्थानीय प्रभावित बासिन्दाको भनाइ छ । गोरखापत्रबाट साभार।


204 पटक हेरिएको 

