पूर्ण सरसफाइका भलाकुसारी : समुदायको आवाजदेखि डिजिटल अभियानसम्म

  वास खबर सम्बाददाता  328 पटक हेरिएको
🔗
471
Shares

कर्णाली : कर्णालीमा पूर्ण सरसफाइ, मर्यादित महिनावारी व्यवस्थापन तथा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण (GEDSI) का विषयलाई डिजिटल माध्यमबाट व्यापक बहसमा ल्याइएको छ। सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजना ले आयोजना गरेको ‘नेपालमा पूर्ण सरसफाइ बहस : सरसफाइका भलाकुसारी’ कार्यक्रममा करिब १३० जना सहभागीले सरसफाइका विविध विषयमा आफ्ना अनुभव, विचार र सन्देश साझा गर्नुभएको हो।

वास क्षेत्रका विज्ञ तथा सरोकारवाला, सरकारी प्रतिनिधि, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, कलाकार तथा समुदायका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रम सुस्वा आयोजनाको टिकटक प्लेटफर्म मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

कार्यक्रममा पूर्ण सरसफाइ भिडियो च्यालेन्जका विजेताहरूको घोषणा तथा सम्मानसमेत गरिएको थियो। सुस्वा आयोजनाले टिकटक भिडियो, फेसबुक रिल्स, पोस्ट तथा अन्य सिर्जनात्मक सामग्रीमार्फत पूर्ण सरसफाइको सन्देश प्रवर्द्धन गर्ने उद्देश्यले उक्त च्यालेन्ज आयोजना गरेको थियो।

शौचालय निर्माणभन्दा अघि बढेर पूर्ण सरसफाइमा जोड

कार्यक्रममा प्राविधिक छलफलको सुरुआत गर्दै सुस्वा आयोजनाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्दराज रोकायाले पूर्ण सरसफाइ केवल शौचालयको पहुँचसँग मात्र सम्बन्धित नभएको बताउनुभयो। उहाँले दिगो सरसफाइ तथा स्वच्छता व्यवहार, समुदायको अपनत्व, गुणस्तरीय सेवा र स्थानीय तहको प्रभावकारी नेतृत्व पूर्ण सरसफाइका महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो।

कर्णालीमा शौचालय निर्माण र पहुँचको उपलब्धिभन्दा पनि अब सरसफाइसम्बन्धी व्यवहार परिवर्तनलाई दिगो बनाउने र सरसफाइलाई समुदायको दैनिक जीवनशैलीसँग जोड्ने प्रयास भइरहेको उहाँले बताउनुभयो।

सुस्वा आयोजनाका GEDSI विज्ञ राजु तिर्वाले सरसफाइ सबैका लागि पहुँचयोग्य, समावेशी र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो। विशेषगरी सेवा पहुँचमा विभिन्न अवरोध सामना गरिरहेका व्यक्ति तथा समुदायलाई सरसफाइ सेवाबाट वञ्चित हुन नदिन पूर्ण सरसफाइका कार्यक्रममा GEDSI लाई प्रभावकारी रूपमा समेट्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा मर्यादित महिनावारी व्यवस्थापनको विषयले पनि प्राथमिकता पाएको थियो। महिला तथा किशोरीले महिनावारीका समयमा सुरक्षित, स्वच्छ र मर्यादित ढंगले व्यवस्थापन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा छलफल केन्द्रित भएको थियो।

गायिका विपना सिंहले महिनावारी सम्बन्धी बदलिँदो अभ्यास र सरसफाइका विषयलाई आफ्ना अनुभव तथा सरसफाइ सम्बन्धी गीत मार्फत प्रस्तुत गर्नुभएको थियो।

सामाजिक सञ्जाललाई वास सन्देशको प्रभावकारी माध्यम

कार्यक्रममा सामाजिक सञ्जालले वास सम्बन्धी सन्देशलाई समुदायसम्म पुर्‍याउन खेल्न सक्ने भूमिकाबारे पनि चर्चा गरिएको थियो। कन्टेन्ट क्रिएटर तथा सरकारी कर्मचारी सिर्जना बडुवालले सामाजिक सञ्जाल मार्फत वासका विषयलाई सरल, रोचक र समुदायले सहजै बुझ्ने शैलीमा प्रस्तुत गर्न सकिने अनुभव साझा गर्नुभयो।

त्यस्तै सल्यानको दार्मा गाउँपालिकाकी वास सहजकर्ता पुष्पा केसीले पूर्ण सरसफाइको दिगोपनका लागि समुदायको सक्रिय सहभागिता, सामूहिक प्रयास र स्थानीय स्तरबाटै नेतृत्व विकास आवश्यक रहेको बताउनुभयो।

भिडियो च्यालेन्ज मार्फत सुस्वा आयोजनाले सर्वसाधारणलाई सरसफाइका कथावाचक र अभियानकर्ताका रूपमा अघि बढ्न प्रेरित गरेको जनाएको छ। छोटा भिडियो, गीत, समुदायका अनुभव र सिर्जनात्मक सामग्री मार्फत परम्परागत सञ्चार माध्यमभन्दा बाहिरका दर्शक तथा समुदायसम्म पनि सरसफाइको सन्देश पुर्‍याउन सकिने कार्यक्रमले देखाएको थियो।

कार्यक्रममा वास खबरका सम्पादक पी.टी. लोप्चनले स्वस्थ, विकसित र समृद्ध कर्णाली निर्माणका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले कर्णालीका समुदायमा पूर्ण सरसफाइ प्रवर्द्धनका लागि सुस्वा आयोजनाले गरिरहेको कामको प्रशंसा गर्नुभयो।

स्थानीय स्तरमा भइरहेका सकारात्मक अभ्यास, सिकाइ र उपलब्धिलाई दस्तावेजीकरण तथा सञ्चार मार्फत व्यापक रूपमा फैलाउन सकेमा सफल सरसफाइ अभ्यासबाट अन्य समुदाय पनि प्रेरित हुने उहाँले उल्लेख गर्नुभयो।

सरसफाइका डिजिटल अभियन्तालाई सम्मान

कार्यक्रममा पूर्ण सरसफाइ भिडियो च्यालेन्जका १० जना विजेतालाई घोषणा गरिएको थियो। विजेतामा @kabitaoli75, @saritarawal1235, @prabeshikaolipun, @purna.prd.hamal, @ishwarikumaridang1, @sushilapariyar931, ग्याल्पो डोन्टोन, विमला कुमारी रोकाया, चन्द्योदय स्कुल र दर्मा खल्टाकुरी बस्थाना रहनुभएको छ।

सुस्वा आयोजनाले विजेताहरूलाई आकर्षक उपहार सामग्री हस्तान्तरण गर्ने जनाएको छ।

विजेताहरूको सिर्जनात्मक सामग्रीले सामाजिक सञ्जाल मनोरञ्जनको माध्यममा मात्र सीमित नभई जनचेतना अभिवृद्धि, ज्ञान आदानप्रदान, समुदाय परिचालन तथा सकारात्मक व्यवहार परिवर्तनका लागि पनि प्रभावकारी प्लेटफर्म बन्न सक्ने सन्देश दिएको छ।

कार्यक्रममा प्राविधिक ज्ञान, समुदायका अनुभव, सिर्जनात्मक प्रस्तुति र डिजिटल सञ्चारलाई एउटै मञ्चमा जोड्दै पूर्ण सरसफाइ केवल वास क्षेत्रको जिम्मेवारी मात्र नभएको सन्देश दिइएको थियो। पूर्ण सरसफाइलाई दिगो बनाउन समुदाय, स्थानीय सरकार, सञ्चारमाध्यम, नागरिक समाज तथा आम नागरिक सबैको साझा अपनत्व र सक्रियता आवश्यक रहेको सहभागीहरूले जोड दिनुभएको थियो।

गायिका विपना सिंहको सांगीतिक प्रस्तुतिसँगै सम्पन्न कार्यक्रममा कर्णालीमा अझ समावेशी, मर्यादित र दिगो सरसफाइ अभियान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमको सञ्चालन सुस्वाका सरसफाइ मार्केटिङ एण्ड सेल्स अफिसर बिना बिष्टले गर्नुभएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार