
काठमाडौं : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले बाढी प्रभावित क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी आपत्कालीन प्रतिक्रिया प्रभावकारी बनाउन स्वयंसेवक तयार पार्ने भएको छ।
भोटेकोशी र त्रिशूली नदी प्रणाली आसपासका क्षेत्रमा हालै आएको विनाशकारी बाढी र त्यसबाट प्रभावित समुदायमा तत्काल खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा तथा सन्देश प्रवाहको आवश्यकता बढिरहेका बेला एन्फोले निःशुल्क ‘WASH Volunteer Training & Preparedness Workshop’ सञ्चालन गर्न लागेको एन्फोका कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
‘Ready to Serve, Prepared to Respond’ भन्ने नाराका साथ सञ्चालन हुने तालिमको उद्देश्य बाढी प्रभावित समुदायमा प्रभावकारी खानेपानी, सरसफाइ तथा स्वच्छता प्रतिक्रिया दिन सक्ने ज्ञान, सीप र व्यावहारिक उपकरण सहितका स्वयंसेवक उत्पादन गर्नु रहेको छ।
तालिममा सहभागी स्वयंसेवकलाई बाढी तथा विपद्पछिको अवस्थामा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी काममा समुदायलाई कसरी सहयोग गर्ने भन्ने बारे व्यावहारिक ज्ञान प्रदान गरिने उहाँले बताउनुभयो।
तालिमको पहिलो ब्याच आगामी सेप्टेम्बर ३ र ४ तथा दोस्रो ब्याच सेप्टेम्बर १० र ११ मा सञ्चालन हुनेछ। आवश्यकताका आधारमा थप ब्याच पनि सञ्चालन गरिनेछ।
उहाँका अनुसार बाढी प्रभावित क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने, सरसफाइका जोखिम न्यूनीकरण गर्ने तथा रोगको सम्भावित प्रकोप रोक्न समुदाय सम्म खानेपानी, सरसफाइ तथा स्वच्छताको सही सन्देश पुर्याउन स्वयंसेवकको महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न तालिम आयोजना गरिएको हो।
तालिममा बाढीपछिको अवस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता स्वयंसेवकको भूमिका, प्रमुख खानेपानी, सरसफाइ तथा स्वच्छता सन्देश र प्रदर्शन, समुदायमा WASH सन्देश कसरी प्रवाह गर्ने, सरोकारवालासँग समन्वय र सञ्चार, स्वयंसेवकको सुरक्षा तथा सुरक्षाका उपाय र फिल्ड परिचालन योजना लगायत विषयमा प्रशिक्षण दिइनेछ।
तालिममा बाढी प्रभावित क्षेत्रमा फिल्डमा खटिएर खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी राहत तथा प्रतिक्रिया गतिविधिमा योगदान गर्न इच्छुक व्यक्तिहरूले सहभागी हुन सक्नेछन्।
एन्फोले तालिमबाट तयार भएका स्वयंसेवकलाई आवश्यकताका आधारमा बाढी प्रभावित समुदायमा प्रभावकारी खानेपानी, सरसफाइ तथा स्वच्छता प्रतिक्रिया तथा सन्देश प्रवाहका लागि परिचालन गर्नेछ। बाढी र अन्य विपद्का समयमा सुरक्षित खानेपानी, सरसफाइ तथा व्यक्तिगत स्वच्छता अत्यन्त महत्वपूर्ण हुने भएकाले तालिम प्राप्त स्वयंसेवकको परिचालनले प्रभावित समुदायमा आवश्यक सहयोग समयमै पुर्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।


245 पटक हेरिएको 

