
काठमाडौं : विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष सावधानी अपनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सर्वसाधारणलाई आग्रह गरेको छ ।
केन्द्रले क्लोरीन झोल वा ट्याबलेट प्रयोग गरेर शुद्धीकरण गरिएको अथवा उमालिएको पानी मात्र पिउन अनुरोध गरेको छ । शुद्धीकरण गरिएको पानी सफा भाँडामा छोपेर राख्न र पानी निकाल्न प्रयोग गरिने भाँडासमेत सफा राख्न सुझाव दिइएको छ ।
त्यस्तै, सडेगलेका, बासी तथा झिंगा भन्केका खानेकुरा नखान आग्रह गरिएको छ । काँक्रो, गाँजर तथा फलफूलजस्ता काँचै खान मिल्ने खाद्य पदार्थ सफा पानीले राम्ररी धोएर मात्र खान केन्द्रले अनुरोध गरेको छ ।
विपद्का बेला सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पी प्रयोग गरेपछि तथा बच्चाको दिसा धोएपछि साबुनपानीले राम्ररी हात धुन स्वास्थ्य निकायले सुझाव दिएको छ ।
केन्द्रले जथाभावी दिसापिसाब नगर्न र नगराउनसमेत आग्रह गरेको छ । दिसापिसाबका लागि चर्पीको मात्र प्रयोग गर्न तथा बच्चाको दिसासमेत चर्पीमै विसर्जन गर्न अनुरोध गरिएको छ । फोहोरलाई निश्चित स्थानमा उचित तरिकाले व्यवस्थापन गर्न तथा खोक्दा वा हाच्छ्युँ गर्दा सफा कपडाले नाक र मुख छोप्न पनि स्वास्थ्य निकायले सुझाव दिएको छ ।
विपद्का कारण खानेपानी तथा सरसफाइको अवस्था प्रभावित हुँदा विभिन्न संक्रामक रोगको जोखिम बढ्न सक्ने भएकाले थप सतर्कता अपनाउन आग्रह गरिएको हो ।
झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघाखोकी तथा टाइफाइडका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न केन्द्रले सर्वसाधारणलाई अनुरोध गरेको छ ।


195 पटक हेरिएको 

