
काठमाडौं : गयराती विष्णुमती र बागमती नदीमा आएको ठूलो बाढीले धोबीघाट ढल प्रशोधन केन्द्र अवरुद्ध भएको छ। यसअघि पनि प्रशोधन प्रणालीमा बालुवा र पानी पसेर ढल प्रशोधन केन्द्र अवरुद्ध भएपछि सफाइको काम भइरहेको थियो।
सोमबार राती थप बाढी प्रवेश गरेपछि प्रशोधन केन्द्र अवरुद्ध भएको आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक ई.राम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
परिक्षणको क्रममा रहेको प्रशोधन केन्द्र भित्रै बाढी प्रवेश गरेपछि प्रशोधन केन्द्रमा ढलको प्रवाह र प्रशोधन प्रक्रिया प्रभावित भएको हो। प्रतिदिन ३ करोड ७२ लाख लिटर ढल प्रशोधन क्षमता रहेको उक्त प्रशोधन केन्द्रको परिक्षण गत असार ३० गतेदेखि भैरहेको थियो।
मुख्य ढल प्रणालीमा जम्मा भएको बालुवा हटाउन आयोजना कार्यान्वयन निर्देशनालयले यसअघि नै पाइपलाइन सफाइको काम गरिरहेको थियो। सफाइ कार्य जारी रहेकै अवस्थामा बाढी प्रवेश गरेपछि समस्या अझ बढेको छ।
उक्त पाइपलाइन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विछ्याएको भएकाले पाइपलाइन सफाइ र आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको आयोजना निर्देशक श्रेष्ठले बताउनुभयो। पाइपलाइन सफाइको काम सुरु भए पनि पूर्ण रूपमा सफा गर्न केही दिन लाग्ने भएकाले त्यस अवधिसम्म प्रशोधन केन्द्र सञ्चालनमा आउन नसक्ने भएको छ।
ढल प्रशोधन केन्द्रको मुख्य ढल प्रणाली सुचारु भएपछि मात्र प्रशोधन केन्द्र परीक्षण गर्ने प्रक्रिया पुनः अगाडि बढाईने आयोजना निर्देशक श्रेष्ठले बताउनुभयो।



404 पटक हेरिएको 

