
दिसाजन्य लेदो खाली गर्ने व्यवसायलाई पम्प चलाएर ट्याङ्की खाली गर्ने काममा मात्र सीमित राख्नु आवश्यक छैन। व्यवसायीले ग्राहकलाई सेप्टिक ट्याङ्की निरीक्षण, खाली गर्ने तथा मर्मतसम्भार सेवा सहितको एकीकृत सेवा उपलब्ध गराउन सक्छ।
यस अन्तर्गत ग्राहकको घर, होटल, रेस्टुरेन्ट, विद्यालय, अस्पताल, कार्यालय वा अन्य संस्थाको सेप्टिक ट्याङ्कीको अवस्थाबारे नियमित निरीक्षण गरिन्छ। ट्याङ्की कहाँ अवस्थित छ, त्यससम्म सक्सन गाडी पुग्न सक्छ कि सक्दैन, म्यानहोलको अवस्था कस्तो छ, ट्याङ्कीको क्षमता कति हो, अन्तिम पटक कहिले खाली गरिएको थियो, अहिले कति भरिएको छ, संरचनामा कुनै क्षति वा चुहावट छ कि छैन, इनलेट–आउटलेट पाइपको अवस्था कस्तो छ लगायतका विवरण अभिलेख राख्न सकिन्छ।
उदाहरणका लागि, कुनै घरको सेप्टिक ट्याङ्की ३ वर्षअघि खाली गरिएको थियो भने त्यसको रेकर्ड डिजिटल प्रणालीमा राख्न सकिन्छ। ट्याङ्कीको आकार, घरमा बस्ने मानिसको संख्या र विगतको खाली गर्ने अन्तरालका आधारमा आगामी पटक निरीक्षण वा खाली गर्नुपर्ने अनुमानित समय पनि ग्राहकलाई जानकारी गराउन सकिन्छ।
डिजिटल रेकर्डिङलाई व्यवसायसँग जोड्ने
यसलाई अझ व्यवस्थित बनाउन प्रत्येक ग्राहकका लागि सेप्टिक ट्याङ्की सेवा अभिलेख बनाउन सकिन्छ। मोबाइल एप, वेबसाइट वा साधारण डिजिटल डेटाबेस मार्फत निम्न विवरण राख्न सकिन्छः
√ ग्राहकको नाम र सम्पर्क विवरण
√ सेप्टिक ट्याङ्कीको स्थान
√ ट्याङ्कीको अनुमानित क्षमता
√ ट्याङ्कीको प्रकार र अवस्था
√ म्यानहोलको पहुँच र अवस्था
√ सक्सन गाडी पुग्ने/नपुग्ने अवस्था
√ अन्तिम पटक खाली गरिएको मिति
√ खाली गर्दा निकालिएको लेदोको अनुमानित मात्रा
√ निरीक्षणका क्रममा देखिएको समस्या
√ पाइप, म्यानहोल वा ट्याङ्की मर्मत गर्नुपर्ने अवस्था
√ अर्को निरीक्षण वा खाली गर्ने सम्भावित मिति
√ सेवा शुल्क र सेवा इतिहास
यसले व्यवसायी र ग्राहक दुवैलाई फाइदा पुर्याउँछ। ग्राहकले आफ्नो सेप्टिक ट्याङ्की कहिले खाली गरिएको थियो भनेर सम्झिरहनु पर्दैन। व्यवसायीले पनि “ट्याङ्की भरियो, गाडी बोलाइदिनुस्” भनेर ग्राहकले फोन गर्ने समय कुर्नुपर्दैन। समयमै SMS, फोन वा मोबाइल नोटिफिकेसन मार्फत सेवा आवश्यक हुन लागेको जानकारी दिन सकिन्छ।
एकपटकका ग्राहकलाई नियमित ग्राहक बनाउने अवसर
यो मोडलको सबैभन्दा महत्वपूर्ण व्यवसायिक पक्ष यही हो।
सामान्यतः दिसाजन्य लेदो खाली गर्ने व्यवसायमा ग्राहकलाई आकस्मिक रूपमा मात्र सेवा चाहिन्छ। ट्याङ्की भरियो, समस्या भयो, अनि गाडी बोलाइयो। त्यसपछि व्यवसायी र ग्राहकबीच लामो समय सम्पर्क नहुन सक्छ।
तर निरीक्षण र डिजिटल रेकर्डिङ जोडिएपछि यही ग्राहकलाई वार्षिक वा अर्धवार्षिक सेवा सम्झौतामा ल्याउन सकिन्छ।
उदाहरणका लागि:
निरीक्षण गर्दा ट्याङ्कीमा समस्या देखिएमा व्यवसायीले आवश्यकता अनुसार म्यानहोल मर्मत, ढक्कन परिवर्तन, पाइप जाँच, इनलेट–आउटलेट सुधार, चुहावट पहिचान तथा अन्य सम्बन्धित प्राविधिक सेवासँग समन्वय गर्न सक्छ।
यसको अर्थ व्यवसायी आफैंले सबै प्राविधिक काम गर्नुपर्छ भन्ने होइन। आवश्यकताअनुसार प्लम्बर, सिभिल प्राविधिक तथा अन्य सम्बन्धित विशेषज्ञसँग सहकार्य गरेर “एकीकृत सेप्टिक ट्याङ्की सेवा” सञ्चालन गर्न सकिन्छ। यसरी ग्राहकले निरीक्षणदेखि ट्याङ्की खाली गर्ने, मर्मतसम्भार तथा आवश्यक प्राविधिक सेवासम्म एउटै सेवा प्रदायकमार्फत प्राप्त गर्न सक्छ।
अझ ठूलो व्यवसायमा विस्तार
भविष्यमा यही डिजिटल प्रणालीलाई स्थानीय तह अर्थात् नगरपालिकासँग समेत जोडेर अझ ठूलो स्तरमा विस्तार गर्न सकिन्छ। उदाहरणका लागि, नगरपालिकाभित्र रहेका सेप्टिक ट्याङ्कीहरूको स्थान, क्षमता, अन्तिम पटक खाली गरिएको मिति तथा सेवा अवस्थासम्बन्धी विवरण समेटिएको डिजिटल अभिलेख तयार गर्न सकिन्छ।
यसबाट कुन क्षेत्रमा कति सेप्टिक ट्याङ्की छन्, कुन ट्याङ्की कहिले खाली गरिएको थियो, कुन ग्राहकलाई पुनः सेवा आवश्यक पर्न सक्छ र कुन क्षेत्रमा बढी सेवा माग छ भन्ने जानकारी सहजै प्राप्त गर्न सकिन्छ। यसले व्यवसायीलाई सेवा योजना बनाउन, गाडी तथा जनशक्ति परिचालन गर्न र नियमित ग्राहक व्यवस्थापन गर्न सहयोग पुर्याउँछ।
दीर्घकालमा यस्तो प्रणालीलाई नगरपालिकाको सरसफाइ व्यवस्थापन प्रणालीसँग जोड्न सकेमा सेप्टिक ट्याङ्की व्यवस्थापनको डिजिटल अभिलेखदेखि नियमित सेवा, लेदो संकलन र सुरक्षित व्यवस्थापनसम्मको सम्पूर्ण प्रणालीलाई व्यवस्थित गर्न सकिन्छ।
त्यसपछि व्यवसायीले आफ्नो गाडी कहाँ पठाउने, कुन क्षेत्रमा नियमित रूपमा सेवा आवश्यक छ, कुन ग्राहकको ट्याङ्की खाली गर्ने समय आएको छ र कुन क्षेत्रमा बढी माग छ भन्ने कुरा डेटाको आधारमा व्यवस्थापन गर्न सक्छ।
यसले अन्ततः दिसाजन्य लेदो व्यवस्थापनलाई गाडी र पम्पको व्यवसायबाट डेटामा आधारित नियमित सरसफाइ सेवा व्यवसायमा रूपान्तरण गर्न सक्छ।


145 पटक हेरिएको 

