
सुर्खेत : कर्णाली प्रदेशमा पूर्ण सरसफाइ प्रवर्द्धनका लागि भइरहेका प्रयास, व्यवहार परिवर्तनको अभियान तथा स्थानीय तह र समुदायको भूमिकालाई समेटिएको पूर्ण सरसफाइ सम्बन्धी वृत्तचित्रको औपचारिक शुभारम्भ गरिएको छ ।
पालिकास्तरीय व्यवहार परिवर्तन कार्ययोजनाको समीक्षा गोष्ठीका अवसरमा वृत्तचित्रको औपचारिक शुभारम्भ गरिएको हो । कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भइरहेको सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजना अन्तर्गत पूर्ण सरसफाइको अभियान, त्यसबाट देखिएको परिवर्तन र सिकाइलाई वृत्तचित्रमा समेटिएको छ ।
वृत्तचित्रमा सुस्वा आयोजना सञ्चालन भएका डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत लगायत जिल्लामा पुगेर पूर्ण सरसफाइका विभिन्न पक्षको छायाङ्कन गरिएको छ । विशेषगरी पूर्ण सरसफाइका ५+१ सूचकहरू हासिल गर्न आवश्यक व्यवहार परिवर्तन, संरचना तथा सेवा सुविधाको विकास, समुदायको सहभागिता र स्थानीय सरकारको नेतृत्वलाई वृत्तचित्रको मुख्य विषय बनाइएको छ ।

पूर्ण सरसफाइका सूचकहरू व्यवहारमा कसरी कार्यान्वयन गर्न सकिन्छ र त्यसका लागि समुदाय, स्थानीय सरकार तथा सरोकारवाला निकाय बीचको सहकार्य कसरी अघि बढिरहेको छ भन्ने विषयलाई वृत्तचित्रले दृश्यका माध्यमबाट प्रस्तुत गरेको वृत्तचित्र तयार गरिएको सुस्वा आयोजनाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्दराज रोकायाले जानकारी दिनुभयो।
सरसफाइका संरचना निर्माण गर्नु मात्रै पर्याप्त नभई ती संरचनाको सही प्रयोग, नियमित सरसफाइ, सुरक्षित पानी तथा सरसफाइ सम्बन्धी व्यवहारलाई दैनिक जीवनमा स्थापित गर्नुपर्ने पक्षलाई पनि वृत्तचित्रले जोड दिएको छ ।

व्यवहार परिवर्तन र पूर्वाधारबीचको सम्बन्ध
वृत्तचित्रले पूर्ण सरसफाइ अभियानलाई शौचालय निर्माण वा भौतिक पूर्वाधार विकासको विषयका रूपमा मात्र प्रस्तुत गरेको छैन । व्यक्तिगत तथा सामुदायिक व्यवहारमा आएको परिवर्तन र त्यसलाई दिगो बनाउन आवश्यक पूर्वाधार बीचको सम्बन्धलाई पनि यसले प्राथमिकताका साथ देखाएको छ ।
“सरसफाइका लागि आवश्यक संरचना निर्माण भएपछि त्यसको प्रयोग र संरक्षण कसरी भइरहेको छ, समुदायले आफ्नो व्यवहारमा कसरी परिवर्तन ल्याइरहेको छ, स्थानीय सरकारले सरसफाइलाई योजना तथा कार्यक्रमसँग कसरी जोडिरहेको छ र सुस्वा आयोजनाले यस प्रक्रियामा कसरी सहजीकरण गरिरहेको छ भन्ने विषयलाई विभिन्न दृश्य, अनुभव र भनाइ मार्फत प्रस्तुत गरिएको छ” सुस्वाका सरसफाइ तथा स्वच्छता विज्ञ रोकायाले भन्नुभयो।

वृत्तचित्रमा समुदायका सदस्यदेखि स्थानीय सरकारका प्रतिनिधि तथा सरसफाइ अभियानमा संलग्न विभिन्न सरोकारवालाका अनुभवलाई समेटिएको छ । यसले पूर्ण सरसफाइ अभियान कुनै एउटा निकाय वा परियोजनाको मात्रै प्रयासबाट सम्भव नहुने र त्यसका लागि घरपरिवार, समुदाय, विद्यालय, स्थानीय सरकार तथा विकास साझेदार सबैको भूमिका महत्वपूर्ण हुने सन्देश दिन खोजेको छ ।

कर्णालीमा आएको परिवर्तनलाई दस्तावेजीकरण
वृत्तचित्रको प्रमुख उद्देश्य कर्णाली प्रदेशको सरसफाइ क्षेत्रमा पछिल्ला वर्षमा भएका परिवर्तनलाई दस्तावेजीकरण गर्नु हो । विशेषगरी सुस्वा आयोजना सञ्चालन भएका क्षेत्रहरूमा सरसफाइको अवस्था, समुदायको सहभागिता, स्थानीय तहको नेतृत्व र विभिन्न साझेदार संस्थाको भूमिकाबाट हासिल भएका उपलब्धिलाई दृश्यका रूपमा अभिलेखीकरण गरिएको छ ।
त्यस्तै, पूर्ण सरसफाइ अभियानबाट समुदायमा देखिएका प्रभाव तथा उपलब्धिलाई प्रस्तुत गर्नु, व्यवहार परिवर्तन र पूर्वाधार विकास बीचको सम्बन्धलाई देखाउनु तथा कर्णालीका विभिन्न स्थानमा भएका सकारात्मक अभ्यास र सिकाइलाई अन्य क्षेत्रले समेत अनुकरण गर्न सक्ने गरी प्रस्तुत गर्नु वृत्तचित्रका मुख्य उद्देश्य हुन् ।

“वृत्तचित्रले सरसफाइ क्षेत्रमा भएका परिवर्तनलाई तथ्य र तथ्याङ्कमा सीमित नगरी स्थानीय समुदायको अनुभव र परिवर्तनको कथा मार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ । यस क्रममा विभिन्न जिल्लाका भौगोलिक तथा सामाजिक परिवेश, स्थानीय अभ्यास र सरसफाइ अभियानमा समुदायले निर्वाह गरेको भूमिकालाई समेत दृश्यमा उतारिएको छ” सरसफाइ तथा स्वच्छता विज्ञ रोकायाले भन्नुभयो।
अन्य क्षेत्रमा पनि सिकाइका रूपमा उपयोग गर्न सकिने
कर्णालीका विभिन्न जिल्लामा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्दा प्राप्त भएका अनुभव, चुनौती, उपलब्धि र सिकाइलाई वृत्तचित्र मार्फत अभिलेख गरिएको छ । स्थानीय तह र समुदायले आफ्नो स्रोत, आवश्यकता र परिस्थिति अनुसार अघि बढाएका अभ्यासलाई अन्य स्थानीय तह तथा प्रदेशले समेत सिकाइका रूपमा उपयोग गर्न सक्ने उद्देश्यले वृत्तचित्र तयार गरिएको सरसफाइ तथा स्वच्छता विज्ञ रोकायाले जानकारी दिनुभयो।
“पूर्ण सरसफाइ हासिल गर्न भौतिक संरचना निर्माणसँगै त्यसको नियमित प्रयोग, संरक्षण तथा सरसफाइ सम्बन्धी व्यवहारलाई संस्थागत गर्नुपर्ने विषय वृत्तचित्रले उजागर गरेको छ” रोकाया भन्नुहुन्छ “यसले स्थानीय सरकारको नेतृत्व र समुदायको स्वामित्व बिना सरसफाइका उपलब्धिलाई दिगो बनाउन कठिन हुने सन्देश समेत दिन्छ ”
सुस्वा आयोजनाले खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तारसँगै व्यवहार परिवर्तन र दिगोपनालाई समेत प्राथमिकतामा राख्दै काम गरिरहेको सन्दर्भमा वृत्तचित्रले आयोजनाका प्रयास र त्यसबाट सिर्जित सिकाइलाई दृश्य माध्यमबाट प्रस्तुत गरेको छ ।

पालिकास्तरीय व्यवहार परिवर्तन कार्ययोजनाको समीक्षा गोष्ठीमा वृत्तचित्रको शुभारम्भ गरिनुलाई पनि पूर्ण सरसफाइ अभियानलाई स्थानीय तहको योजना, कार्यक्रम र व्यवहार परिवर्तनका प्रयाससँग थप मजबुत रूपमा जोड्ने अवसरका रूपमा हेरिएको छ ।
कर्णालीका विभिन्न भूगोल र समुदायमा पूर्ण सरसफाइका लागि भएका प्रयासलाई एउटै वृत्तचित्रमा समेटिएको यो सामग्रीले संरचना निर्माणबाट व्यवहार परिवर्तनतर्फ र व्यवहार परिवर्तनबाट दिगो सरसफाइतर्फ अघि बढिरहेको यात्रालाई दस्तावेजीकरण गरेको छ ।

पूर्ण सरसफाइ सम्बन्धी यो वृत्तचित्र सुस्वा आयोजनाका सरसफाइ तथा स्वच्छता विज्ञ रोकायाको कन्सेप्टमा तयार गरिएको हो । पूर्ण सरसफाइका ५+१ सूचक, व्यवहार परिवर्तन र पूर्वाधार विकासलाई एउटै कथ्यमा जोडेर वृत्तचित्र निर्माण गर्ने अवधारणा रोकायाले अघि बढाउनुभएको हो ।
वृत्तचित्रको निर्माण सुस्वा आयोजनाले गरेको हो । यसको कन्सेप्ट विकासदेखि विभिन्न जिल्लामा पुगेर छायाङ्कन तथा सम्पूर्ण उत्पादन प्रक्रियामा सम्पन्न सञ्चार प्रालिले काम गरेको छ ।
विभिन्न जिल्लाको स्थानीय परिवेश, समुदायको दैनिक जीवन, सरसफाइ सम्बन्धी अभ्यास, निर्माण भएका संरचना तथा स्थानीय तहबाट भइरहेका प्रयासलाई प्रत्यक्ष रूपमा छायाङ्कन गरी वृत्तचित्र तयार गरिएको हो ।
यस क्रममा सरसफाइलाई प्राविधिक विषयका रूपमा मात्रै नभई मानिसको जीवनशैली र व्यवहारसँग जोडिएको विषयका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक पी.टी.लोप्चनले जानकारी दिनुभयो।



299 पटक हेरिएको 

