
अछाम : वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएको मंगलसेन नगरपालिका–३ स्थित बिरालतोली टोलमा अहिले घरघरमै पानीको धारा पुगेको छ। खानेपानीको सुविधा सँगै सरसफाइका आवश्यक सूचक समेत पूरा गरेपछि बिरालतोलीलाई पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा गरिएको छ।
घट्टेखोला लिफ्ट खानेपानी तथा सरसफाइ योजनाको निर्माण सम्पन्न भई ‘एक घर, एक धारा’को व्यवस्था भएपछि बिरालतोलीलाई पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा गरिएको हो।
टोलमा प्रत्येक घरमा खानेपानीको धारा जडान हुनुका साथै भाँडा सुकाउने चाङ, कुहिने तथा नकुहिने फोहोर व्यवस्थापनका लागि छुट्टाछुट्टै खाल्डा लगायत सरसफाइका संरचना निर्माण गरिएका छन्।

मंगलसेन नगरपालिका–३ का अध्यक्ष बृखबहादुर बोगटीका अनुसार बिरालतोलीमा लामो समयदेखि खानेपानीको ठूलो समस्या थियो। नगरपालिका तथा वडा कार्यालयको सहयोग, हेल्भेटास नेपालको आर्थिक तथा सेवक नेपालको प्राविधिक सहयोगमा खानेपानी योजना निर्माण भएपछि वर्षौंदेखिको समस्या समाधान भएको हो।
“बिरालतोलीका नागरिकलाई खानेपानीको सुविधा दिने प्रतिबद्धता पटक–पटक जनाए पनि विभिन्न कारणले पूरा हुन सकेको थिएन। अहिले योजना सम्पन्न भएर घरघरमा धारा पुगेको छ,” अध्यक्ष बोगटीले भन्नुभयो, “अब बिरालतोलीलाई नमुना टोलका रूपमा विकास गर्ने लक्ष्य छ।”
उहाँले योजना निर्माणमा स्थानीय नागरिकको सक्रिय सहभागिता रहेकाले निर्धारित समयमै काम सम्पन्न गर्न सकिएको बताउनुभयो। योजनाको दिगोपनाका लागि भने निर्माण भएका संरचनाको संरक्षण र उचित प्रयोगमा उपभोक्ताले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
पानीकै अभावमा बसाइँ सर्नुपरेको थियो
घरमै खानेपानीको धारा पुगेपछि बिरालतोलीका स्थानीय नागरिकमा खुसी छाएको छ। वर्षौंदेखि पानीको समस्या भोग्दै आएका स्थानीय भक्तबहादुर साउदका अनुसार खानेपानीको अभावकै कारण केही परिवारले गाउँ छाडेर बसाइँसराइ समेत गर्नुपरेको थियो।
“वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका थियौँ। पानीकै अभावमा केही दाजुभाइ बसाइँसराइ गरेर जानुभयो,” उहाँले भन्नुभयो, “अहिले घरमै पानी आउँदा म मात्र होइन, सिंगो गाउँ नै खुसी छ।”
पञ्चायतकालदेखि नै खानेपानीको आश्वासन पाउँदै आए पनि लामो समयसम्म समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो। अहिले नगरपालिका र हेल्भेटास नेपालको सहयोगमा घरमै पानी पुगेपछि विगतका दुःख बिर्सन थालेको उहाँको भनाइ छ।
खानेपानीसँगै सरसफाइका संरचना
बिरालतोलीलाई पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा गर्नुअघि प्रत्येक घर तथा अन्य संरचनाको अनुगमन गरिएको थियो। अनुगमनपछि शिवनिवास आधारभूत विद्यालयको प्राङ्गणमा घोषणा कार्यक्रम आयोजना गरिएको हो।
पदमसिंह भाटको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

नगरप्रमुख बोहराले आफू जनप्रतिनिधि भएदेखि नै बिरालतोलीका नागरिकलाई खानेपानीको सुविधा उपलब्ध गराउन पहल गर्दै आएको बताउनुभयो। आफ्नो १० वर्षे कार्यकालको अन्तिम चरणमा लामो प्रयास सफल भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।
“लामो प्रयास र ठूलो लगानीपछि बिरालतोलीका घरघरमा पानीका धारा बगेको देख्दा र नागरिकको अनुहारमा मुस्कान देख्दा अत्यन्त खुसी लागेको छ,” उहाँले भन्नुभयो। उहाँले खानेपानीलाई उपभोगमा मात्र सीमित नराखी आयआर्जनसँग जोड्न स्थानीयलाई आग्रह गर्नुभयो।
“पानी जीवन हो। यसको सदुपयोग गर्दै गरिबी घटाउने र आय आर्जन बढाउने गतिविधि सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “त्यस्ता गतिविधिका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार छ।” खानेपानी योजना निर्माण हुनु मात्रै उपलब्धि नभएको भन्दै उहाँले यसको संरक्षण, उचित प्रयोग र दीर्घकालीन सञ्चालनको जिम्मेवारी उपभोक्ताको समेत भएको बताउनुभयो।
एक घर, एक धारासँगै फोहोर व्यवस्थापन
मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगानाले बिरालतोलीको सौन्दर्यमा घरघरमा जडान गरिएका खानेपानीका धाराले थप आकर्षण ल्याएको बताउनुभयो। उहाँका अनुसार ‘एक घर, एक धारा’को व्यवस्थासँगै भाँडा सुकाउने चाङ तथा कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि छुट्टाछुट्टै खाल्डासमेत निर्माण गरिएका छन्।
निर्माण गरिएका संरचनाको नियमित र भरपुर प्रयोग गर्न स्थानीयलाई आग्रह गर्दै उहाँले पानीको संरक्षणमा स्थानीय नागरिकले ‘पानीका सिपाही’का रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। सरसफाइसँगै अन्य सामाजिक गतिविधिमा समेत टोलवासी सक्रिय हुनुपर्ने उहाँको भनाइ छ।
‘भविष्यमा १ हजार घरधुरीसम्म पानी पुग्न सक्छ’
हेल्भेटास नेपालका टिम लिडर मदनराज भट्टले घट्टेखोला लिफ्ट खानेपानी तथा सरसफाइ योजना गुणस्तरीय उपकरण प्रयोग गरी निर्माण गरिएको बताउनुभयो। उहाँका अनुसार योजनाको क्षमता भविष्यमा करिब १ हजार घरधुरीसम्म खानेपानी सुविधा पुर्याउन सकिने गरी विकास गरिएको छ।

लाछीमनामा रहेको मुहान तथा लिफ्ट प्रणाली दुवै माध्यमबाट पानी तानिने भएकाले खानेपानीको उपलब्धता सुनिश्चित गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो। मुख्य पानी ट्याङ्कीमा आवश्यक औषधि प्रयोग गरिएकाले पानीलाई सुरक्षित बनाएर वितरण गर्न सकिने र पानी तथा सरसफाइको कमीका कारण फैलिन सक्ने रोगबाट बच्नसमेत सहयोग पुग्ने उहाँको भनाइ छ।
योजनाको दीर्घकालीन संरक्षण र उचित व्यवस्थापनमा विशेष ध्यान दिन उहाँले उपभोक्तालाई आग्रह गर्नुभयो।
८६ लाखभन्दा बढी लगानी, ९ सय ४७ घरपरिवार लाभान्वित
घट्टेखोला लिफ्ट खानेपानी तथा सरसफाइ योजनाको निर्माणमा कुल ८५ लाख ९१ हजार ४ सय ६० रुपैयाँ लगानी भएको बताइएको छ।
यसमा मंगलसेन नगरपालिका तथा वडा कार्यालयको २१ लाख २४ हजार २ सय १९ रुपैयाँ र हेल्भेटास नेपालको ४३ लाख ९ हजार ७ सय २४ रुपैयाँ रहेको छ। योजनाको निर्माणमा अन्य स्रोत तथा स्थानीय सहभागिता सहित कुल लगानी उक्त रकम पुगेको जनाइएको छ।
छोटो समयमै निर्माण सम्पन्न भएको योजनाबाट बिरालतोलीका ९ सय ४७ घरपरिवार लाभान्वित भएको बताइएको छ।
खानेपानीको सुविधा विस्तारसँगै सरसफाइका आवश्यक सूचक पूरा भएपछि टोललाई पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा गरिएको हो। अब निर्माण भएका संरचनाको संरक्षण, पानीको सुरक्षित प्रयोग, फोहोरको उचित व्यवस्थापन र योजनाको नियमित सञ्चालनमार्फत उपलब्धिलाई दिगो बनाउने चुनौती टोलवासीसामु रहेको छ।
घोषणा कार्यक्रममा मंगलसेन नगरपालिका–३ का अध्यक्ष बृखबहादुर बोगटी, वडा नम्बर ४ का अध्यक्ष नामसिंह धामी, सेवक नेपालका कार्यसमिति सचिव केशर रावल, हेल्भेटास नेपालका वास अधिकृत चन्द्रप्रकाश केसी लगायतले शुभकामना मन्तव्य राख्दै योजनाको दिगोपनामा ध्यान दिन आग्रह गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय कला तथा संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रस्तुत गरी अतिथिहरूलाई स्वागत गरिएको थियो।


127 पटक हेरिएको 

