
धादिङ : भोटेकोशी बाढीका कारण ध्वस्त भएको धादिङको गजुरी गाउँपालिका–१ मा अवस्थित आदर्श बहुमुखी क्याम्पसको खानेपानी आपूर्ति प्रणाली पुनःस्थापित गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवन, युनिसेफ नेपाल र शान्ति नेपालको सहकार्यमा क्याम्पसमा नयाँ खानेपानी प्रणाली जडान गरी सेवा पुनःसञ्चालनमा ल्याइएको हो ।
बाढीका कारण क्याम्पसको खानेपानी आपूर्ति प्रणालीमा क्षति पुगेपछि करिब २५० जना विद्यार्थी अध्ययनरत रहेको उक्त शैक्षिक संस्थामा खानेपानीको समस्या उत्पन्न भएको थियो । विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई खानेपानीको सहज व्यवस्था गर्न क्याम्पसबाट करिब २०० मिटरको दूरीमा रहेको पानीको मूलबाट पानी आपूर्ति हुने गरी नयाँ प्रणाली जडान गरिएको हो ।

नयाँ प्रणाली अन्तर्गत पानीको मूलदेखि क्याम्पससम्म ३२ मिलिमिटरको एचडीपीई पाइप बिछ्याइएको छ । साथै, पानीलाई मूलबाट क्याम्पससम्म पम्प गरी आपूर्ति गर्न २ एचपी क्षमताको सम्बर्सिबल वाटर पम्पसहितको पम्पिङ प्रणाली जडान गरिएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवनका प्रमुख शेखर चन्द्र केसीले जानकारी दिनुभयो।
उहाँका अनुसार नयाँ खानेपानी प्रणाली जडान भएपछि बाढीका कारण अवरुद्ध भएको क्याम्पसको खानेपानी सेवा पुनःसञ्चालनमा आएको छ । यस सँगै क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई खानेपानीको सुविधा सहज भएको छ ।

बाढीले चितवन र धादिङमा मात्र २७ वटा खानेपानी आयोजनाहरू पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
दीर्घकालीन पुनःनिर्माणको काम अघि नबढुञ्जेलसम्म स्थानीयवासी तथा प्रभावित विद्यालयहरूमा खानेपानीको हाहाकार हुन नदिन वैकल्पिक माध्यमबाट पानी पुर्याउने व्यवस्था मिलाइएको कार्यालय प्रमुख केसीले बताउनुभयो।


206 पटक हेरिएको 

