
सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाका विभिन्न वडामा सरसफाइ तथा स्वच्छता अभियान सञ्चालन भइरहेको छ । अभियान अन्तर्गत वास च्याम्पियनहरूले टोल समुदायमा सचेतना फैलाउँदै साबुनपानीले हात धुने बानीको विकास गर्न स्थानीयवासीलाई प्रेरित गरिरहेका छन् ।
वास च्याम्पियनहरूले समुदायका घरपरिवार तथा स्थानीयवासीलाई हात धुने उचित तरिका, साबुनपानीले हात धुनुपर्ने अवस्था र व्यक्तिगत सरसफाइको महत्त्वबारे जानकारी दिँदै आएको बराहक्षेत्र नगरपालिकाका वास फोकल पर्सन मोतिलाल चौधरीले जानकारी दिनुभयो। उनीहरूले सरसफाइ तथा स्वच्छ व्यवहारलाई समुदायको दैनिक जीवनशैलीको हिस्सा बनाउन प्रोत्साहित गरिरहेका छन् ।
यसैगरी, विभिन्न टोल विकास संस्थाहरूले टोलको वातावरण स्वच्छ तथा सफा राख्ने र स्थानीय विकासका विषयमा छलफल गर्न बैठक आयोजना गर्दै आएका छन् । वास फोकल पर्सन चौधरीका अनुसार बैठकमा टोलको सरसफाइ, वातावरणीय स्वच्छता तथा समुदायको विकासका लागि आवश्यक पहलका विषयमा छलफल हुने गरेको छ ।
यस क्रममा संविधान दिवस २०८३ को अवसरमा बराहक्षेत्र नगरपालिकाका विभिन्न स्थानमा प्रभातफेरी सहित सरसफाइ कार्यक्रम समेत सम्पन्न गरिएको छ । संविधान दिवसलाई सरसफाइ तथा स्वच्छता प्रवर्धनसँग जोड्दै आयोजित कार्यक्रममा स्थानीय समुदायको सहभागिता रहेको थियो ।

नगरपालिकाका विभिन्न वडामा सञ्चालन भइरहेका यस्ता अभियानले समुदायमा सरसफाइ प्रतिको जागरूकता बढाउनुका साथै स्वच्छ वातावरण निर्माणमा स्थानीयवासीको सहभागिता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


102 पटक हेरिएको 

