बर्दघाट खानेपानीको प्राथमिकता : विपन्नलाई धारा, भूमिगत पानी पुनर्भरण र चुहावट नियन्त्रण

  प्रकाश न्यौपाने  47 पटक हेरिएको
🔗
54
Shares

नवलपरासी : आर्थिक अभावका कारण खानेपानीको धारा जडान गर्न नसकेका विपन्न परिवारलाई लक्षित गर्दै बर्दघाट नगरपालिका र बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले लागत साझेदारीमा धारा जडान गर्ने भएका छन्। नगरपालिकाले ७० प्रतिशत र उपभोक्ता संस्थाले ३० प्रतिशत लागत व्यहोर्ने गरी धारा जडानको व्यवस्था अघि बढाइएको हो।

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २६औँ वार्षिक साधारण सभामा नगरप्रमुख शम्भुलाल श्रेष्ठले आर्थिक अभावकै कारण कुनै पनि परिवार शुद्ध खानेपानीको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न नगरपालिका र संस्था सहकार्यका लागि तयार रहेको बताउनुभयो।

‘विपन्न परिवारका लागि धारा जडान गर्दा नगरपालिकाले ७० प्रतिशत र संस्थाले ३० प्रतिशत लागत व्यहोर्ने व्यवस्था गरिएको छ,’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो।

धारा जडानसँगै मुहान संरक्षणमा जोड

साधारण सभामा खानेपानी सेवा विस्तारसँगै पानीका स्रोत संरक्षण, भूमिगत जल पुनर्भरण र खानेपानी चुहावट नियन्त्रणलाई दीर्घकालीन चुनौतीका रूपमा उठाइएको थियो।

खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख दिनेशकुमार शाहले भूमिगत जल पुनर्भरण कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले खानेपानी संस्था उपभोक्तामैत्री भएर अघि बढ्नुपर्ने बताउँदै २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउनु सकारात्मक काम भएको उल्लेख गर्नुभयो।

बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले पानीको सदुपयोग र मुहान संरक्षणमा उपभोक्ता स्वयं सचेत हुनुपर्ने बताउनुभयो। उहाँले पानीको अनावश्यक खपत र चुहावट नियन्त्रणमा उपभोक्ताहरू चनाखो हुनुपर्नेमा जोड दिनुभयो।

संस्थाका सल्लाहकार रविन्द्रविक्रम हमालले खानेपानी चुहावट नियन्त्रणका लागि छुट्टै कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो। बर्दघाट बजार विकास समितिका अध्यक्ष गोविन्द पाध्याले आगामी पुस्तालाई पानीका स्रोत सुरक्षित रूपमा हस्तान्तरण गर्नु अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो।

उपभोक्तामैत्री कार्यक्रम सञ्चालन गर्न माग

साधारण सभामा खानेपानी सेवा विस्तारसँगै उपभोक्तामैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने माग समेत उठेको थियो। पूर्वनगरप्रमुख धीरज शर्मा बस्यालले दीर्घरोगी उपभोक्तालाई उपचार तथा सहायता उपलब्ध गराउने नीति बनाउन सुझाव दिनुभयो। बर्दघाट–४ की उपभोक्ता दिलकुमारी कुँवरले अशक्त उपभोक्ताका लागि सहायता कार्यक्रम सञ्चालन गर्न तथा ढल निकास र फोहोरमैला व्यवस्थापनलाई प्राथमिकता दिन संस्थालाई आग्रह गर्नुभयो।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, पश्चिम नवलपरासीका अध्यक्ष देवीदत्त सापकोटाले ‘एक घर एक धारा’ अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो।

त्यस्तै, खानेपानी परीक्षणको सुविधा जिल्लाभर विस्तार गर्नुपर्ने र उपभोक्ताको आवश्यकताअनुसार सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने सुझावसमेत साधारण सभामा आएको थियो।

४ हजार ३०१ घरधुरीमा चौबिसै घण्टा खानेपानी

संस्थाका अध्यक्ष दीपक लम्सालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधि, आगामी योजना र चुनौतीबारे जानकारी गराउनुभयो।

उपाध्यक्ष कमल थापाले खानेपानी सुरक्षा सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष राधादेवी अधिकारीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक नारायण भण्डारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभाले प्रस्तुत प्रतिवेदनहरू पारित गरेको छ।

संस्थाका अनुसार हाल बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो कार्यक्षेत्रका ४ हजार ३०१ घरधुरीमा चौबिसै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको छ।

संस्थाले २६औँ वार्षिक साधारण सभाका अवसरमा कार्यक्षेत्र भित्रका पाँचवटा टोल विकास संस्था तथा विभिन्न सामाजिक अभियन्तालाई सरसफाइका आवश्यक औजार समेत वितरण गरिएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार