
काठमाडौं : काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणाली सुधार अन्तर्गत निर्माण सम्पन्न भएका थप ६ वटा डिस्ट्रिक्ट मिटर्ड एरिया (DMA) सञ्चालन तथा व्यवस्थापनका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई हस्तान्तरण गरिएको छ।
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (KVWSIP) अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले निर्माण सम्पन्न गरेका DMA १.२, ६.१, ६.२, ७.३, ७.४ र ८.१ औपचारिक रूपमा हस्तान्तरण गरिएका हुन्।

PID ले यी संरचनाको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (KVWSMB) लाई हस्तान्तरण गरेको छ। बोर्डले सञ्चालन तथा मर्मत सम्भारको जिम्मेवारी केयूकेएललाई सुम्पिएको हो।
हस्तान्तरण सम्बन्धी सम्झौतापत्रमा PID का आयोजना निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठ, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (KVWSMB) का कार्यकारी निर्देशक डा. इन्जिनियर डोलप्रसाद चापागाईं, केयूकेएलका प्रबन्ध निर्देशक इन्जिनियर रामरतन साह र साक्षीका रूपमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव इन्जिनियर रमाकान्त दवाडीले हस्ताक्षर गर्नुभएको छ।

६ वटा DMA अन्तर्गत २३१ किलोमिटरभन्दा बढी पाइपलाइन
हस्तान्तरण भएका ६ वटा DMA अन्तर्गत कुल २ लाख ३० हजार ९ सय १९ दशमलव ४४ मिटर वितरण पाइपलाइन निर्माण गरिएको छ। यी संरचनाबाट २२ हजार ८ सय ५२ घरधुरीको खानेपानी जडान समेटिएको छ। जडान भएका घरधुरीमध्ये ९९ दशमलव ९३ प्रतिशत अर्थात् २२ हजार ८ सय ३७ वटा जडानमा मिटर जडान वा सिलिङको काम सम्पन्न भइसकेको जनाइएको छ।

सबै DMA मा २४ घण्टे स्थिर अवस्थाको फङ्सनल ग्यारेन्टी टेस्ट (FGT) समेत सम्पन्न गरिएको छ।
PID का आयोजना निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले काठमाडौं रिङरोडभित्रका विभिन्न स्थानमा खानेपानी सेवाका लागि ट्याङ्की, वितरण पाइपलाइनलगायतका संरचना निर्माण सम्पन्न गरी थप ६ वटा DMA हस्तान्तरण गरिएको बताउनुभयो।
उहाँले यसबाट काठमाडौंको खानेपानी सञ्चालन अझ प्रभावकारी हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो।

३३ मध्ये ३१ वटा DMA हस्तान्तरण
DNI नेटवर्कअन्तर्गत निर्माण गरिएका कुल ३३ वटा DMA मध्ये यसअघि २५ वटा हस्तान्तरण भइसकेका थिए। थप ६ वटा हस्तान्तरण भएसँगै हस्तान्तरण गरिएका DMA को संख्या ३१ पुगेको छ। अब DMA १.३ र १.४ गरी २ वटा DMA मात्र हस्तान्तरण हुन बाँकी छन्। आवश्यक काम तथा प्रमाणीकरण पूरा भएपछि ती संरचना पनि हस्तान्तरण गरिने जनाइएको छ।

हस्तान्तरणपछि सञ्चालनका क्रममा कुनै समस्या देखिएमा PID र केयूकेएलले संयुक्त रूपमा समस्या समाधान गर्ने सहमति भएको छ।
थप फोटोहरु :









फोटोहरु : पी.टी. लोप्चन/वास खबर


436 पटक हेरिएको 

