
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, वर्षाको पानी निकास तथा भवन निर्माणलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकासका काम अघि बढाएको छ। गाउँपालिकाले सडक ढलान तथा कालोपत्र, नयाँ सडकको ट्र्याक निर्माण, खानेपानी पाइपलाइन विस्तार र नाली निर्माणलगायतका कामलाई प्राथमिकता दिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्माका अनुसार गत आर्थिक वर्षदेखि सडक तथा खानेपानी पूर्वाधार विस्तारसँगै सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक भौतिक संरचना निर्माण र मर्मतसम्भारका कामसमेत अघि बढाइएको छ।
उहाँका अनुसार उक्त अवधिमा गाउँपालिकाभित्र चार हजार ९१८ मिटर सडक ढलान, एक हजार २६४ मिटर सडक कालोपत्र र ८८१ मिटर नाली निर्माण गरिएको छ। यसैगरी यातायात पहुँच विस्तार गर्ने उद्देश्यले तीन हजार ५५४ मिटर नयाँ सडकको ट्र्याक खोलिएको छ भने एक हजार ६०० मिटर सडक मर्मत तथा सम्भार गरिएको छ।
खानेपानी पूर्वाधार विस्तारतर्फ गाउँपालिकाले आठ हजार ५०० मिटर नयाँ पाइपलाइन विस्तार गरेको छ। यसका साथै स्थानीयवासीलाई खानेपानीको पहुँच सहज बनाउन चारवटा सार्वजनिक धारा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो।
सडक पूर्वाधारसँगै सडक किनारमा वर्षाको पानीको निकास व्यवस्थापन तथा अन्य आवश्यक संरचनाको विकासलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ। सडकमा नाली निर्माण तथा मर्मतसम्भारले वर्षायाममा पानीको उचित निकास व्यवस्थापन गर्न र सडकको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक भवन निर्माण तथा मर्मतसम्भारलाई पनि प्राथमिकतामा राखेको छ। यस अवधिमा दुईवटा नयाँ भवन निर्माण गर्नुका साथै सातवटा भवन मर्मत गरिएको शर्माले जानकारी दिनुभयो।
सडकको पहुँच विस्तार, खानेपानी पूर्वाधार निर्माण र सार्वजनिक भवनको सुधारमार्फत गाउँपालिकाले स्थानीयस्तरमा आधारभूत सेवा तथा सुविधाको पहुँच विस्तार गर्ने प्रयास गरेको छ।


229 पटक हेरिएको 

