लेकबेशी नगरपालिकाको वडा नं. ९ बन्यो, सफा तथा स्वच्छ नमुना वडा

रुविका श्रेष्ठ, सुर्खेत : कर्णाली प्रदेशको सुर्खेत जिल्ला, लेकवेशी नगरपालिकाको वडा नम्वर ९ लाई सफा तथा स्वच्छ नमुना वडा घोषणा गरिएको छ ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिबाट जारी पूर्ण सरसफाइ मार्गदर्शन २०७३ बमोजिम वडाका ८०३ घरधुरीमै पुर्ण सरसफाइका पाँच प्लस एक सुचक पुरा भएपछि वडा नं ९ का वडा अध्यक्ष मानबहादुर खडलुकको अध्यक्षता तथा नगर प्रमुख गगन सुनारको प्रमुख आतिथ्यमा वडा नं. ९ लाई सफा तथा स्वच्छ नमुना वडा घोषणा गरिएको हो ।

 

घोषणाका क्रममा आफ्नो वडालाई सफा तथा स्वच्छ नमुना वडा कायम राख्दै पुर्ण सरसफाइका क्रियाकलापहरुलाई निरन्तरता दिने वडाबासीले प्रतिबद्धता जनाएका छन् । उनीहरुले सुरक्षित चर्पीको प्रयोग, सुरक्षित पानीको प्रयोग एवं भण्डारण, साबुन पानीले हात धुने तथा सरसफाइ गर्ने, सुरक्षित खानाको प्रयोग तथा सुरक्षित भण्डारण गर्ने, घर आँगन सरसफाइ राख्ने र वातावरण सफा राख्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा लेकवेशी नगरपालिकाका प्रमुख गगन सुनारले सरसफाइ तथा स्वच्छतालाई घोषणामा मात्रै सिमित नराखी हरेक व्यक्तिले आफ्नो बानी व्यवहारमा नै परिवर्तन ल्याउनु पर्ने बताउदै पुर्ण सरसफाइका क्रियाकलापहरुलाई निरन्तरता दिदै सबैले व्यवहारमा परिवर्तन ल्याउन निर्देशन दिनुभयो ।

 

लेकबेशी नगरपालिकाले वडा नम्वर १० लाई यस अघि नै पुर्ण सरसफाइ युक्त वडा घोषणा गरिसकेको छ । बाँकी वडा पनि क्रमिक रुपमा यो अभियान सञ्चालन गर्दै अघि बढ्ने र नगरपालिकालाई नै पुर्ण सरसफाइमा नमुना नगरपालिका बनाउने योजना रहेको नगर प्रमुख सुनारले बताउनुभयो ।

सरसफाइ र स्वच्छता भन्ने कुरा व्यबहार परिवर्तन नभए सम्म हुन नसक्ने बताउँदै नगर उप प्रमुख शान्ति छन्तेलले सबैले सरसफाइमा ध्यान दिई स्वस्थ रहन आग्रह गर्नुभयो ।

सफा तथा स्वच्छ नमुना वडा घोषणा कार्यक्रमका सभापति समेत रहेका ९ नं. वडाका अध्यक्ष मानबहादुर खडलुकले सरसफाइ तथा स्वच्छता अभियानमा सहयोग पुर्याउने सम्पुर्ण सरोकारवालाहरुलाई धन्यवाद दिदै वडाबासीलाई पूर्ण सरसफाइ निरन्तर कायम राख्न आग्रह गर्नुभयो ।

 

एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास स्विस इन्टरकोपरेशन नेपालले विगत दुई वर्षदेखि घरयासी खानेपानी शुद्धिकरण तथा सुरक्षित भन्डारण लगायतका पूर्ण सरसफाइ कार्यक्रमको लागि साविकको साटाखानी गाविससँग सम्झौता गरी स्थानीय साझेदार संस्था समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेत मार्फत कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

कार्यक्रमको सहयोग तथा सरकोरवालाको साझा कार्यक्रम संचालन तथा सहयोग एवं स्थानीय सरकारको नेतृत्वमा सञ्चालित पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रमबाट वडा सफा तथा स्वच्छ नमुना वडा घोषणाको चरणमा पुगेको हो ।

खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति लेकवेशी नगरपालिका वडा नम्वर ९ को आयोजना तथा ९ नम्वर वडा कार्यालय, समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेत, सुन्दर नेपाल संस्था र सरगम युवा क्लव चौरासेको समन्वय र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको सहयोगमा वडालाई सफा तथा स्वच्छ नमुना वडा घोषणा गरिएको हो । घोषणा सभामा राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार