विनोद कुमार महतो, धनुषा : धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखरमा आज भोली चर्पी निर्माणको कामले गति लिएको छ । अरु काम थाती राखेर भएपनि बालाबाखरका बासिन्दा चर्पी निर्माणमा जुटेका छन् । तीन महिना अघिसम्म २ सय घरमा मात्र चर्पी रहेको बालाबखरमा अहिले सबै जसो घरमा चर्पी निर्माण हुने क्रममा छन् । कमला नदीको छेउमा पर्ने बालाबखरमा २ हजार ४ सय घरपरिवारको बसोबास छ ।
बालाबाखरमा चर्पी निर्माणको अवस्था सम्बन्धी जिल्ला स्तरीय खानेपानी तथा सरसफाइ समन्वय समिति (डिवाससीसी) ले हालै अनुगमन समेत गरेको छ । अनुगमनको क्रममा वडाको सरसफाइको अवस्था सम्बन्धी जानकारी दिँदै वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक एवं वडाध्यक्ष तेजीलाल यादवले अबको १ हप्ताभित्र सबै घरमा चर्पी निर्माणको काम सम्पन्न भइ प्रयोगमा आइसक्ने बताउनुभयो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाका सरसफाइ फोकल पर्सन विजय कुमार यादव, एस एन भी धनुषाका सरसफाइ विज्ञ विनोद शर्मा, युएन ह्याविट्याट धनुषा जिल्ला संयोजक उमा सिम्खडा, समाज उत्थान युवा केन्द्रका कार्यक्रम संयोजक अर्जुन दाहाल, खानेपानी तथा सरसफाइ अधिकृत सुजित मण्डल, वडाध्यक्ष तेजीलाल यादव, वडा सचिव सुदिप भट्टराई लगायतले बालाबखरमा चर्पी निर्माणको अवस्थाका विषयमा अनुगमन गरेको हो ।
शहिदनगर नगरपालिकाको वडा नं. १ (साविकको बालाबाखर गाविस) मा युएन ह्याविट्याटको सहयोगमा समाज उत्थान युवा केन्द्रले खानेपानी तथा सरसफाइ अभियान चलाई रहेको छ । अभियानका क्रममा २ महिनादेखि आवासीय रुपमा सरसफाइ अभियान सञ्चालन भइरहेको छ ।
अभियानका क्रममा वडामा क्रियाशिल राजनीतिक दलहरु सहितको घरदैलो कार्यक्रम गरिएको आवासीय सरसफाइ अभियानका संयोजक महादेव प्रसाद पटेलले जानकारी दिनुभयो । उहाँ अनुसार अवको १ हप्तामा वडालाई गुणस्तरीय अनुगमन गराई खुला दिसामुक्त घोषणा गरिने लक्ष्यका साथ अभियान अघि बढाइएको छ । अभियानकै क्रममा अहिलेसम्म खुला ठाउँमा दिसा गर्ने दर्जनौ मानिसलाई पक्राउ गरी चर्पीमा मात्र दिसा गर्ने प्रतिबद्धता गराएर छाडिएको पटलले बताउनुभयो ।
यसैबीच जिल्लाको साविकका ६ वटा गाविसमा डिवासीसीले चर्पी निर्माणको अवस्था र गुणस्तर सम्बन्धी अनुगमन गरिसकेको छ । खुल्ला दिसामुक्त क्षेत्र घोषणाका लागि डिवासीसीबाट अनुगमन गरी सकिएको ६ वटै साबिकका गाविसहरु खुलादिसामुक्त घोषणाको अन्तिम तयारी भईरहेको छ ।
धनुषाको साविकका पर्टेवा, खरिहानी, ननुपटी, शान्तिपुर, भुतही पर्टेवा, रघुनाथपुर लगायत गाविसको अनुगमन भईसकेको डिवाससीसीले जनाएको छ ।


813 पटक हेरिएको 

