बाढी पहिरोबाट विस्थापित २१ परिवारलाई खानेपानी ट्याङ्की वितरण

  वास खबर सम्बाददाता  79 पटक हेरिएको
🔗
61
Shares

पोखरा : टाइगर ग्रुप अफ पोखरा, नेपालले पर्वतको फलेवास नगरपालिका–८ का बाढी पहिरोबाट विस्थापित २१ परिवारलाई खानेपानी ट्याङ्की वितरण गरेको छ ।

गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट प्रभावित परिवारलाई स्वच्छ खानेपानीको पहुँच सहज बनाउने उद्देश्यले संस्थाले राहत स्वरूप २१ थान खानेपानी ट्याङ्की वितरण गरेको हो ।

प्राकृतिक विपत्तिका कारण घरबार गुमाएर विस्थापित भएका परिवारको दैनिक जीवन सहज बनाउन खानेपानी ट्याङ्की वितरण गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिनुभयो ।

राहत अभियानलाई सफल बनाउन टाइगर ग्रुप अफ जापान शाखाका सह–कोषाध्यक्ष छम खत्री, टाइगर ग्रुप अफ पोखरा, नेपालका सदस्य तथा पोर्चुगल शाखाका संयोजक वकिल केसी र जापान शाखाका कोषाध्यक्ष पृथ्वी खत्रीले समन्वय गर्नुभएको थियो । उहाँहरूको पहलमा जापानी नागरिकहरूले समेत सहयोग गरेका थिए । विदेशमा रहेर पनि विभिन्न व्यक्तिहरूले राहत अभियानमा सहयोग पुर्‍याएको अध्यक्ष शर्माले बताउनुभयो ।

राहत संस्थाका अध्यक्ष नारायण प्रसाद शर्मा, महासचिव तथा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, सचिव डीबी नेपाली, कोषाध्यक्ष हरिकुमार श्रेष्ठ, सदस्य तथा पोर्चुगल शाखाका संयोजक वकिल केसी, सदस्य तथा कार्यालय सचिव नारायणबहादुर भण्डारी, सदस्य अनिल गुरुङ र उद्योग मन्त्रालयका अधिकृत भरत भुसाल लगायतको उपस्थितिमा वितरण गरिएको हो।

कार्यक्रममा अध्यक्ष शर्मा र महासचिव बरालले विपत्तिको कठिन परिस्थितिमा प्रभावित परिवारलाई एक्लो महसुस हुन नदिने बताउनुभयो । उहाँहरूले आगामी दिनमा पनि प्रभावित परिवारको आवश्यकता अनुसार सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पीडित परिवारको दुःखलाई आफ्नो दुःखका रूपमा लिँदै वितरण गरिएको सामग्री राहतमा मात्र सीमित नभई आत्मीयता, सद्भाव र मानवीय सहयोगको प्रतीक समेत भएको उहाँहरूले उल्लेख गर्नुभयो । यसैगरी, बाढीपहिरो प्रभावित परिवारलाई स्वदेश तथा विदेशबाट सहयोग गर्ने सबैप्रति अध्यक्ष शर्माले आभार व्यक्त गर्नुभयो ।

खेलकुद विकाससँगै शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवा मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको टाइगर ग्रुपले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार