
बर्दिया : स्वास्थ्य संस्थाबाट निस्कने संक्रामक फोहोरको सुरक्षित व्यवस्थापन र त्यसबाट हुन सक्ने वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले बर्दियाको ठाकुरबाबा नगरपालिका–स्थित शिवपुर स्वास्थ्य चौकीमा डबल च्याम्बर इन्सिनेरेटर निर्माण गरिएको छ ।
ठाकुरबाबा नगरपालिकाले Terre des hommes (Tdh) र गेरुवा ग्रामीण जागरण संघको साझेदारीमा सञ्चालित सफल परियोजनाको सहजीकरणमा उक्त इन्सिनेरेटर निर्माण गरेको हो । दुईवटा दहन कक्ष रहेको यस प्रविधिले स्वास्थ्य संस्थाबाट निस्कने जलाउन मिल्ने संक्रामक फोहोर व्यवस्थापन गर्नुका साथै त्यसबाट निस्कने धुवाँको समेत दोस्रो चरणमा दहन गर्ने व्यवस्था गरेको छ ।
शिवपुर स्वास्थ्य चौकीका प्रमुख गणेशप्रसाद आचार्यका अनुसार इन्सिनेरेटरको पहिलो च्याम्बरमा फोहोर जलाइन्छ भने त्यसबाट निस्कने धुवाँलाई दोस्रो च्याम्बरमा पुर्याएर पुनः उच्च तापक्रममा जलाइन्छ । यसरी दुई चरणमा दहन गर्ने प्रविधिले फोहोर र त्यसबाट निस्कने धुवाँमा रहेका हानिकारक पदार्थको जोखिम कम गर्न सहयोग पुर्याउने उहाँले बताउनुभयो ।

‘हामी अहिले उभिरहेको संरचनालाई संक्रामक तथा जलाउन मिल्ने स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि बनाइएको डबल च्याम्बर इन्सिनेरेटर भन्छौँ । यसमा दुईवटा कोठा छन् । एउटा कोठामा फोहोर जल्छ भने अर्को कोठामा त्यसबाट निस्कने धुवाँ पनि पुनः जल्छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार इन्सिनेरेटरको भित्री तापक्रम ८०० देखि ८५० डिग्री सेल्सियसभन्दा माथि पुर्याउने अवधारणा अनुसार यसको निर्माण गरिएको हो । उचित तापक्रममा फोहोर र त्यसबाट निस्कने धुवाँको दहन हुँदा वातावरणमा पर्न सक्ने नकारात्मक प्रभाव कम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
स्वास्थ्य संस्थाबाट निस्कने संक्रामक फोहोरको उचित व्यवस्थापन नहुँदा स्वास्थ्यकर्मी, सेवाग्राही तथा समुदायमा संक्रमण फैलिने जोखिम रहन्छ । त्यस्तै, त्यस्ता फोहोरलाई जथाभावी जलाउँदा वा खुला ठाउँमा फाल्दा वातावरणीय प्रदूषणको समस्या पनि निम्तिन सक्छ । त्यसैले फोहोरको वर्गीकरण, सुरक्षित संकलन र उपयुक्त प्रविधिबाट प्रशोधन गर्नु स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको महत्त्वपूर्ण पक्ष हो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
विश्व स्वास्थ्य संगठनले समेत स्वास्थ्यजन्य फोहोर जलाउँदा प्राथमिक र दोस्रो दहन कक्षमा उचित तापक्रम कायम गर्नुपर्ने तथा उत्सर्जित धुवाँमा रहेका हानिकारक प्रदूषक नियन्त्रणका लागि आवश्यक प्रणाली अपनाउनुपर्नेमा जोड दिएको छ । त्यसैले डबल च्याम्बर इन्सिनेरेटरको प्रभावकारिता सुनिश्चित गर्न तापक्रम नियन्त्रण सँगै उत्सर्जनको गुणस्तर र धुवाँ प्रशोधन प्रणालीको व्यवस्थापन पनि आवश्यक हुन्छ ।
शिवपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको यो संरचनाले स्वास्थ्य संस्थाबाट निस्कने संक्रामक तथा जलाउन मिल्ने फोहोरको व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै सुरक्षित स्वास्थ्य सेवा र वातावरण संरक्षणको प्रयासमा सहयोग पुर्याउने अपेक्षा गरिएको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विना कुमारी भट्टराईले बताउनु भयो ।


31 पटक हेरिएको 

