
बर्दिया : स्वास्थ्य संस्थामा निर्माण गरिएका अपाङ्गतामैत्री शौचालयले अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र नभई ज्येष्ठ नागरिक, बालबालिका तथा विभिन्न शारीरिक समस्या भएका सेवाग्राहीलाई समेत सहज बनाएको छ ।
Terre des hommes (Tdh) र गेरुवा ग्रामीण जागरण संघको साझेदारीमा सञ्चालित सफल परियोजना अन्तर्गत बर्दियाको आधारभूत स्वास्थ्य केन्द्र मोहनपुरमा निर्माण गरिएको अपाङ्गतामैत्री शौचालयले विशेषगरी घुँडा तथा जोर्नी दुख्ने, ढाडको समस्या भएका र शौचालयमा बस्न तथा उठ्न कठिनाइ हुने सेवाग्राहीलाई सहज भएको हो ।
स्वास्थ्य केन्द्रकी अहेब निर्मला खड्काका अनुसार अपाङ्गता भएका व्यक्तिहरू ह्वीलचेयर मार्फत सहजै प्रयोग गर्न सक्ने गरी शौचालय निर्माण गरिएको हो । शौचालयभित्र जडान गरिएका समाउने स्ट्यान्ड (ह्यान्डरेल) ले ज्येष्ठ नागरिक तथा शारीरिक समस्या भएका व्यक्तिहरूलाई थप सहज बनाएको उहाँले बताउनुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
‘पहिले ज्येष्ठ नागरिक, जोर्नी दुख्ने तथा ढाडको समस्या भएका सेवाग्राहीलाई शौचालयमा सामान्य रूपमा उठ्न र बस्न समेत समस्या थियो । अहिले शौचालयमा जडान गरिएको समाउने स्ट्यान्ड समातेर बस्न र उठ्न सहज भएको छ,’ उहाँले भन्नुभयो ।
अपाङ्गतामैत्री पूर्वाधारको निर्माणले स्वास्थ्य सेवामा सबैको पहुँच र सहजता बढाउन सहयोग पुगेको उहाँको भनाइ छ ।
यसले स्वास्थ्य संस्थामा निर्माण गरिने अपाङ्गतामैत्री शौचालय अपाङ्गता भएका व्यक्तिका लागि मात्र नभई ज्येष्ठ नागरिक, बालबालिका र अस्थायी वा दीर्घकालीन शारीरिक कठिनाइ भएका सबै सेवाग्राहीका लागि उपयोगी हुने देखाएको छ ।


53 पटक हेरिएको 

