पानीको अभावमा पनि चर्पी प्रयोग गर्न सकिने जापानी प्रविधि नेपालमा

एक लिटर भन्दा कम पानीमै दिसा विसर्जन

  वास खबर सम्बाददाता  125 पटक हेरिएको
🔗
187
Shares

काठमाडौ : जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्ने, मुहानको बहाव घट्ने र खानेपानीको उपलब्धता अनिश्चित बन्दै गएको छ । यसको प्रत्यक्ष असर घरायसी जीवनसँगै सरसफाइमा पनि पर्न थालेको छ । पर्याप्त पानी नहुँदा चर्पी प्रयोग गर्न कठिन हुने र उपलब्ध पानीको ठूलो हिस्सा दिसा विसर्जनमै खर्च गर्नुपर्ने अवस्था अझ चुनौतीपूर्ण बन्दै गएको छ ।

जलवायु परिवर्तनले पानीका स्रोत सुक्दै जाँदा कम पानीमै दिसा विसर्जन गर्न सकिने सुधारिएको चर्पी प्रविधि उपयोगी विकल्प बन्न सक्छ । 

विशेष गरी पानीको अभाव भइरहने तथा जलवायु परिवर्तनको जोखिममा रहेका समुदायका लागि यस्तो अवस्थामा कम पानी प्रयोग गरेर सञ्चालन गर्न सकिने सुधारिएको चर्पीको आवश्यकता बढ्दै गएको छ ।

यही आवश्यकतालाई ध्यानमा राखेर कम पानीमै दिसा विसर्जन गर्न सकिने स्याटो (SATO) प्रविधिका सामग्रीको प्रवर्द्धन भइरहेको छ । यस अन्तर्गत आई ट्र्याप (I-Trap) र स्याटो प्यान (SATO Pan) पानीको सीमित उपलब्धता भएका स्थानमा समेत प्रयोग गर्न सकिने विकल्पका रूपमा प्रस्तुत गरिएका छन् ।

यी सामग्रीको प्रवर्द्धन सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाले गरिरहेको छ । आयोजनाले जलवायु परिवर्तनका कारण पानीको उपलब्धतामा देखिने चुनौतीलाई ध्यानमा राख्दै कम पानी प्रयोग हुने सरसफाइ प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिरहेको छ ।

एक लिटर भन्दा कम पानीमै दिसा विसर्जन

स्याटो प्रविधि अन्तर्गतको आई ट्र्याप कम पानी प्रयोग गरेर दिसा विसर्जन गर्न सकिने गरी तयार गरिएको विशेष प्रणाली हो । यसमा प्रयोग गरिएको फ्ल्यापले दिसाको भार पर्नेबित्तिकै खुल्ने र दिसा पार भएपछि पुनः बन्द हुने सिद्धान्तमा काम गर्छ ।

यसको विशेषता भनेकै एक लिटरभन्दा कम पानी प्रयोग गरेर दिसा विसर्जन गर्न सकिने क्षमता हो । परम्परागत रूपमा बढी पानी प्रयोग हुने चर्पीको तुलनामा यसले पानीको खपत घटाउन सहयोग पुर्‍याउन सक्ने सुस्वा आयोजनाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्द रोकायाले बताउनुभयो।

आई ट्र्याप र स्याटो प्यानको प्रवर्द्धन मार्फत सुस्वा आयोजनाले पानीको सीमित उपलब्धतामा पनि सरसफाइ सुविधाको निरन्तरतामा जोड दिएको छ ।

उहाँका अनुसार पानीको स्रोत टाढा रहेका, सुक्खा याममा मुहानको बहाव घट्ने तथा नियमित रूपमा पर्याप्त पानी उपलब्ध नहुने समुदायमा यस्तो प्रविधिको प्रयोगले चर्पी सञ्चालनलाई सहज बनाउन सक्छ । विशेषगरी खानेपानी र सरसफाइका लागि उपलब्ध सीमित पानीलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने अवस्थामा यो प्रविधि उपयोगी हुन सक्छ ।

आई ट्र्यापलाई स्याटो प्यानमा मात्र नभई अन्य उपयुक्त प्रकारका चर्पी प्यानमा समेत जडान गर्न सकिन्छ । आवश्यकता अनुसार यसको उचाइ मिलाएर प्रयोग गर्न सकिने भएकाले विभिन्न प्रयोगकर्ताको सुविधालाई ध्यानमा राखेर चर्पी निर्माण गर्न पनि सकिन्छ ।

हलुका प्यान, सहज ढुवानी र जडान

स्याटो प्यानको अर्को विशेषता यसको हलुकापन हो । हलुका भएकाले एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्न सहज हुन्छ । दुर्गम बस्तीमा निर्माण सामग्री पुर्‍याउन कठिन हुने अवस्थामा यस्तो विशेषताले केही सहजता प्रदान गर्न सक्छ ।

यसलाई आई ट्र्याप वा साइफन प्रणालीसँग जोडेर प्रयोग गर्न सकिन्छ । स्थानीय आवश्यकता र उपलब्ध संरचना अनुसार सुधारिएको चर्पी निर्माण गर्दा यसको प्रयोग गर्न सकिनेछ ।

त्यस्तै, बजारबाट ढुवानी गर्दा सामग्री टुटफुट हुने वा स्थानीय स्तरमा आवश्यक सामग्री उपलब्ध नहुँदा चर्पी निर्माणमा समस्या भोगिरहेका समुदायका लागि पनि स्थानीय अवस्था अनुसार जडान गर्न सकिने प्रविधि उपयोगी हुन सक्छ ।

जलवायु अनुकूल सरसफाइका लागि प्रविधिको आवश्यकता

जलवायु परिवर्तनले खानेपानीको उपलब्धतामा पार्ने प्रभावलाई ध्यानमा राख्दा सरसफाइ प्रणाली पनि पानीको सीमिततासँग अनुकूल हुन आवश्यक छ । पानीको अभाव हुँदैमा चर्पी प्रयोग गर्न नसकिने अवस्था आउन नदिन कम पानी खपत गर्ने प्रविधिको विस्तार महत्त्वपूर्ण हुन्छ ।

सुस्वा आयोजनाले प्रवर्द्धन गरिरहेका यस्ता प्रविधिले पानीको बचतसँगै जलवायु अनुकूल सरसफाइ प्रणाली विकासमा सहयोग पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ ।

सुस्वा आयोजनाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्द रोकायाका अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता घट्दै गएको अवस्थामा कम पानी प्रयोग हुने चर्पी प्रविधिको प्रवर्द्धन आवश्यक छ । पानीको अभाव भएका समुदायमा समेत सरसफाइ सुविधाको निरन्तरता कायम राख्न यस्ता प्रविधिको प्रयोग र विस्तार महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

स्याटोका आई ट्र्याप र प्यानको प्रभावकारी प्रयोगका लागि भने उपयुक्त संरचना छनोट र दक्ष मिस्त्रीबाट जडान गराउनु आवश्यक हुन्छ । तालिम प्राप्त मिस्त्रीले स्थानीय रूपमा उपलब्ध सामग्रीको उपयोग गर्दै आवश्यकता अनुसार चर्पी निर्माण तथा जडान गर्न सक्छन् ।

यी सामग्री विकासोन्मुख मुलुकमा पानीको अभाव लगायत सरसफाइ सम्बन्धी चुनौतीलाई ध्यानमा राखेर जापानको LIXIL कम्पनीले डिजाइन तथा उत्पादन गरेको हो । नेपालमा पनि यसको प्रवर्द्धन तथा उपलब्धता सम्बन्धी पहल भइरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार