खानेपानी तथा सरसफाइ बोर्ड मोडेलमा स्थानीय तहको बढ्दो आकर्षण

  वास खबर सम्बाददाता  159 पटक हेरिएको
🔗
199
Shares

सुरक्षित, नियमित र दिगो खानेपानी आपूर्ति नेपालका स्थानीय तहका लागि जटिल चुनौतीकै रूपमा रहेको छ । विशेष गरी छरिएर रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूले अपेक्षित गुणस्तर र सेवास्तर कायम गर्न नसक्दा धेरै पालिकाहरू वैकल्पिक व्यवस्थापन मोडेलको खोजीमा छन् । यही सन्दर्भमा स्थानीय तहहरु पछिल्लो समय ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड मोडेल प्रति आकर्षित हुँदै गएका छन् ।

welthungerhilfe (डब्लु.एच.एच.) र स्थानीय साझेदार संस्थाहरुको साझेदारीमा वास प्रणाली सुदृढीकरण परियोजना सञ्चालन भइरहेका मकवानपुर, सिरहा र सप्तरीका विभिन्न पालिकाहरूले खानेपानी व्यवस्थापनलाई दीगो र संस्थागत बनाउन बोर्ड मोडेलमा जाने प्रस्ताव गाउँसभा तथा नगरसभाबाट पारित गरिसकेका छन् ।

बोर्ड मोडेल सफलतापूर्वक लागू गरेका धादिङको ज्वालामूखी गाउँपालिका र सर्लाहीको हरिपुर गाउँपालिकाको अध्ययन भ्रमण पछि त झनै यस मोडेलप्रति जनप्रतिनिधिहरूको विश्वास र आकर्षण बढेको छ ।

सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ उपभोक्ता समितिको सीमित क्षमताले खानेपानी व्यवस्थापनमा समस्या आएको स्वीकार गर्नुहुन्छ ।

“समिति स्वयंसेवी संरचना हो । नियमित मर्मत, प्राविधिक जनशक्ति व्यवस्थापन र आर्थिक अनुशासन कायम गर्न गाह्रो भयो,” उहाँ भन्नुहुन्छ, “बोर्ड मोडेलमा व्यवसायिक संरचना हुन्छ, सेवा प्रदायकको स्पष्ट जिम्मेवारी हुन्छ । यही कारण हामी बोर्ड मोडेलतर्फ उन्मुख भएका हौँ।”

मेयर श्रेष्ठका अनुसार बोर्ड मोडेलले एकीकृत योजना, नियमित महसुल संकलन, सेवा स्तर अनुगमन र दीर्घकालीन लगानीको आधार तयार गर्छ, जुन सुरक्षित खानेपानीको आधार हो ।

मकवानपुरको कैलास गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान खानेपानीलाई अझै पनि परियोजनाका रूपमा बुझ्ने प्रवृत्तिले समस्या सिर्जना गरेको बताउनुहुन्छ। “खानेपानी एक पटक बनायो अनि सकियो भन्ने होइन,” उहाँ भन्नुहुन्छ, “यो निरन्तर सञ्चालन, मर्मत र सेवा गुणस्तर सुधारसँग जोडिएको विषय हो। बोर्ड मोडेलले यही सोचलाई संस्थागत गर्छ।”

कैलास गाउँपालिकाले बोर्ड मोडेल तर्फ जाने निर्णय गरिसकेको र यसले जलस्रोत संरक्षण, सेवा शुल्कको पारदर्शिता र प्रणालीगत सुशासन लाई बलियो बनाउने उहाँको विश्वास छ । बोर्ड मोडेलले खानेपानी सेवा सञ्चालनमा स्थायित्व ल्याउने उहाँको विश्वास छ ।

उहाँ भन्नुहुन्छ “छरिएका समितिहरू हुँदा एउटै पालिकाभित्र फरक–फरक मापदण्डमा सेवा सञ्चालन हुन्छ । बोर्ड मोडेलले एउटै संरचनामा ल्याएर सेवा गुणस्तर समान बनाउँछ।”

मकवानपुरकै राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले दुर्गम भूगोलमा खानेपानी सञ्चालन अझ चुनौतीपूर्ण रहेको उल्लेख गर्दै भन्नुहुन्छ “बोर्ड मोडेलले प्राविधिक जनशक्ति राख्न, दीर्घकालीन योजना बनाउन र बाह्य स्रोतसँग समन्वय गर्न सजिलो बनाउँछ । यसले ग्रामीण पालिकालाई पनि सुरक्षित खानेपानीतर्फ अघि बढाउँछ ।”

स्थानीय तहको दृष्टिमा बोर्ड मोडेल

ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड मोडेलको सबैभन्दा ठूलो विशेषता भनेको यसको संस्थागत र व्यवसायिक संरचना हो । यस मोडेलले खानेपानी सेवाको व्यवस्थापनलाई स्वयंसेवी र छरिएको अभ्यासबाट निकालेर स्पष्ट जिम्मेवारी,कार्यविधि र दक्ष जनशक्तिमा आधारित संस्थागत प्रणालीमा रूपान्तरण गर्छ । यसले निर्णय प्रक्रिया, सेवा सञ्चालन र दीर्घकालीन योजनालाई स्थायित्व प्रदान गर्छ।

बोर्ड मोडेलले सेवा प्रदायक र सेवाग्राही बीचको उत्तरदायित्वलाई स्पष्ट बनाउँछ। कसले सेवा दिने, कस्तो गुणस्तरको सेवा दिने र सेवाग्राहीको दायित्व के हुने भन्ने विषयमा प्रष्टता आउँदा गुनासो व्यवस्थापन, सेवा सुधार र विश्वास निर्माण सहज हुने सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर कृष्णप्रसाद ढकाल बताउनुहुन्छ ।

यस मोडेलले आर्थिक पारदर्शिता र दीगो वित्तीय व्यवस्थापनलाई संस्थागत गर्छ । नियमित महसुल संकलन, खर्चको लेखाजोखा, मर्मत सम्भार कोषको व्यवस्था र भविष्यका लगानी योजनाले खानेपानी प्रणालीलाई अनुदानमा मात्र निर्भर नराखी आत्मनिर्भर बनाउने आधार तयार गर्छ। यसले सेवा दीर्घकालसम्म निरन्तर चल्ने सुनिश्चितता दिने गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ बताउनुहुन्छ ।

सबै पक्षहरू अन्ततः वास प्रणाली सुदृढीकरण (WASH System Strengthening) सँग प्रत्यक्ष रूपमा जोडिन्छन् । संरचना, क्षमता, वित्त, शासन र सेवा वितरणलाई एउटै प्रणालीभित्र समेट्दा खानेपानी र सरसफाइ सेवाहरू दिगो, समावेशी र विस्तारयोग्य बन्छन् । यही कारण, ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड मोडेललाई सुरक्षित खानेपानीको दीर्घकालीन समाधानका रूपमा स्थानीय तहहरूले प्राथमिकता दिन थालेका छन् ।

स्थानीय सरकारको सहकार्यमा welthungerhilfe (WHH)  तथा माहुली सामुदायिक विकास केन्द्रको साझेदारीमा सप्तरीको सप्तकोशी नगरपालिका, बिष्णुपुर नगरपालिका, डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका र अग्नसाइर कृष्णासबरन गाउँपालिका गरी पाँच वटा पालिका तथा सबल नेपालको साझेदारीमा सिरहाको कर्जन्हा नगरपालिका, सिरहा नगरपालिका, गोलबजार नगरपालिका, कल्याणपुर नगरपालिका र बिष्णुपुर नगरपालिका गरी पाँच पालिकामा Up–Scaling WASH System Strengthening Approach in The Terai Region of Nepal परियोजना कार्यान्वयन भैरहेको छ ।

यस्तै नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आर.आर.एन.) को साझेदारीमा मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा पहाडी क्षेत्रमा वास प्रणाली सुदृढीकरण तथा व्यवहार परिवर्तन परियोजना कार्यान्वयन गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार